
काठमाडौँ | प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।
जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ ।
साझेदार दलहरूको बीचमा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सहमति भएअनुसार आज प्रतिनिधि सभामा पेस हुन लागेका हुन्।आज आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णयार्थ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।अब आजको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धीबाहेकका अरू पाँच वटा अध्यादेश स्वीकृतिका लागि पेश हुन लागेको हो । संसद् अधिवेशन शुरू भएको ६० दिनभित्र अध्यादेश संसद्बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यादेशको आयु अब २७ दिन बाँकी छ ।



























