
काठमाडौं, २९ असोज | आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् । उनले संसद् पुनस्र्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताए ।आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए ।उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ ।सभामुख देवराज घिमिरेलाई संसद् पुनस्र्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनस्र्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए ।‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ । यसको लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईँहरुको तमासा अब हामी हेरेर बस्दैनौं,’ आजपा अध्यक्ष साहले भने, ‘देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेको जनताको जनविद्रोहको सम्बोधन होस् । अन्तरिम संविधानसहित नयाँ सरकार बनोस् भन्ने हामीले चाहेका थियौं । नेताहरुले यसलाई धुमिल बनाए, विदेशी शक्तिहरुले हाइज्याक गर्दिए ।’दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउदै उनले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए । आफूहरुको तेस्रो जनआन्दोलनको बलमा जेन–जीहरुले भ्रष्टाचारविरुद्धको अभियान उठान गरेको पनि उनले बताए । साहले गत भदौ २३ गते मात्रै जेन–जीको आन्दोलन रहेको र २४ गते हत्यारा सरकारको विरुद्ध आम जनता सडकमा आएको बताए ।‘मेरो विचारमा केपी र देउवाको गठबन्धन थियो । ती दुईवटा गुटबाहेक जति पनि राजनीतिक दलहरु थिए, तिनीहरुको कुनै न कुनै ढंगलको समर्थन जेन–जी आन्दोलनप्रति थियो । आम जनविद्रोहमा सहभागिता थियो भनेर यो कुरालाई स्वीकार गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।तर, जेन–जी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेन–जीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको बताए । आजको सरकार र सबै आन्दोलनको जस अबजस राजदूतावासले तय गर्ने स्थिति बनाइएको उनको टिप्पणी छ । आम नेपाली जनताले बदलावको लागि लडेको भए पनि जेन–जी आन्दोलन कसैलाई कुर्सी दिनका लागिमात्रै नरहेको उनको भनाइ छ ।नेपाली जनताले कांग्रेस र एमालेको अपवित्र राजनीतिलाई निधेष गरिदिएको पनि उनले बताए । नेता साहले सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्किृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको टिप्पणी गरे । सरकार बनेपछिको गतिविधिहरु पनि अदृष्य र सन्दीग्ध रहेको उनले बताए । प्रधानमन्त्री कार्की आफैंले अहिले ‘म जेन–जीलाई चिन्दिनँ’ भनिराखेको उनले बताए । उनले प्रधानमन्त्री कार्कीलाई ‘कसको सिफारिसमा मन्त्रीहरु नियुक्त गरिराख्नु भएको छ ?’ भन्दै प्रश्न गरे । जेन–जी आन्दोलन र जनताको विद्रोहको बलमा प्रधानमन्त्री बनेकी कार्कीले त्यसलाई संस्थागत गर्ने बाटोमा जान नचाहेको उनको आरोप छ ।वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको पनि नेता साहले बताए । वर्तमान सरकारले आज हुकुमी शासन चलाइरहेको पनि उनले बताए । कुनै दिन ‘पाँच दिनमा भ्रष्टाचारीलाई कारबाही गर्छु, भ्रष्टाचार नियन्त्रण गछर््ु’ भन्ने प्रधानमन्त्री कार्कीले आज एक महिना भइसक्दा पनि भ्रष्टाचारीमाथिको कारबाहीबारे कुनै पनि निर्णय नगरेको उनले बताए ।साथै, प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हठाउने निर्देशन दिएर अन्याय गरेको पनि बताए । दरबन्दी सिर्जना गरेर उनीहरुलाई स्थायी गराउनुको सट्टा प्रधानमन्त्री कार्कीले गरिब जनतालाई दुःख दिने र रुवाउने काम गरेको बताए । उनले करारको कर्मचारी हटाउने निर्णय फिर्ता लिन पनि सरकारलाई सुझाव दिए । यदि उक्त निर्णय फिर्ता नलिइएको खण्डमा आजपाले देशभरका करारका कर्मचारीहरुलाई काठमाडौंमा उतार्ने चेतावनी आजपा अध्यक्ष साहले दिएका छन् ।वर्तमान संविधानमा नेपालको कुनै पनि जनता भूमिहीन हुनेछैन, घरबारविहीन हुने छैन, सुकुम्बासी र भूमिहीनलाई जग्गा देऊ भनिराखेको नेता साहको भनाइ छ । वर्तमान सरकारले संविधानको उक्त प्रावधानलाई अपमान गरेरे भूमि समस्या समाधान आयोग खारेज गरेको उनले बताए ।उनले पूर्व प्रधानमन्त्री केपी ओलीले नियुक्ति गरेको गलत मान्छेलाई हटाउनुको सट्टा प्रधानमन्त्री कार्कीले आयोग नै खारेज गरिदिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री कार्कीले सुकुम्बासीलाई रुवाउने, श्रेणीविहीन कर्मचारीहरुलाई आतङ्कित बनाउनेजस्ता गरिबमारा काम गरिरहेको उनले बताए । सरकारका मन्त्रीहरुको बिजुलीको बिल सरकारले तिर्ने तर जनताको बिजुलीको बिल तिर्न नहुने सरकारको निर्णयप्रति असहमती जनाउदै उनले उर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो बिल आफै तिर्नुपर्ने चुनौती दिए ।अहिले दुनियाँले विदेशी डलरबाट बनेको एनजीओहरुले देश चलाइरहेको आरोप लगाइरहेको बताउँदै नेता साहले प्रधानमन्त्री कार्कीसँग यस आरोपको जवाफ मागे । अहिले यो सरकार एउटै म्यानडेट चुनाव गराउने गरी बनेको भए पनि यसले चुनाव गराउँछ कि गराउँदैन भन्ने अन्यौलता दुनियाँमा रहेको बताए । चुनाव गराउनका लागि भयरहित वातावरण हुनुपर्नेमा त्यसको प्रत्याभूति सरकारले दिन नसकिराखेको उनले बताए ।सरकारमा सहभागि प्रधानमन्त्रीदेखी मन्त्रीहरुले आफ्नो सम्पती विवरण सार्वजनिक नगरेको, १२ महिनाको एक बर्ष भएपनि दशैंभत्ता सहित १३ महिनाको तलब किन लिएको ? कुटनीतिक आचारसंहिता पालना सरकारले किन नगरेको, लुटिएको प्रहरीको हतियार फिर्ता कति भयो ? कहाँ छ ?, फरार कदैबन्दी कहाँ छन ? लगायतका प्रश्नैप्रश्न गर्दै आजपा अध्यक्ष साहले सरकारको जवाफ माग गरेका छन् । यस्तै उनले सरकारमा जेनजीको सहभागिता किन नगराइएको भन्दै प्रश्न समेत गरे ।




























