
काठमाडौं, ९ पुस ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आज (बुधबार) बसेको आजपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री सुशिला कार्की जेनजी हत्यारा, भ्रटाचारीसंग बसेर चिया सम्वाद थालेकोमा आक्रोश व्यक्त गरे ।`अन्तरिम सरकार जेनजी हत्याराहरुको सेवामा समर्पित छ, बयान लिनुपर्नेहरुलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,´ आजपा अध्यक्ष साहले भने, `जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरुको रगतको अवमूल्यन गरे । आज दुबै चिया चर्चामा ब्यस्त हुनुहुन्छ ।´केपी ओलीको अहंकारको कारण मुलुक खरानी भएको बताउदै उनले ओलीको अझै धाक, धम्की नरोकिएको बताए । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियाँलिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको साहले बताए ।तर सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशंका उनले व्यक्त गरे । सुशील सरकारले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरुले २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने उनले बताए ।`संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,´ आजपा अध्यक्ष साहले भने, `सरकार आँफै चुनावी वातावरण बनाउने कुरामा असफल भइसक्यो, नसक्ने हो भने हात उठाउन म अनुरोध गर्दछु ।´वर्तमान सरकारले मुलुकलाई ढुंगे युगमा धकेलेको उनले बताए । `सबै देशसँगको सम्बन्ध टुटाएको छ, राजदूतहरु फिर्ता गरेर त्यसको सुरुवात गर्यो´ उनले भने ।
अमेरिका, चीनलगायत देशले यस्तो विषम परिस्थितिमा नेपालबाट आ आफ्ना राजदूत फिर्ता बोलाउनु समिक्षाको विषय भएको टिप्पणी उनले गरे ।सरकारमा बसेर राजनीतिकदल बनाउने र उम्मेदवार खोज्दै घरदैलो गर्नेहरुको निर्वाचन कसरी सम्पन्न गर्नेतर्फ ध्यान नभएको उनले बताए । `नयाँ र विकल्प दिन्छु भन्नेहरु पनि लोकप्रिय अनुहारको खोजीमा घरदैलोमा हिँड्न थाल्नु दुःखद् हो,´ आजपा अध्यक्ष साहले भने ।
चुनावको मौका छोपेर राजनीतिमा आउने र दल खोल्नेहरुले देश र जनताको बरेमा गम्भीर नभएको बताउदै उनले उनीहरु लोभले राजनीतिमा लागेको बताए ।बैठकले अगामी निर्वाचनको रणनीतिको बारेमा छलफल गर्दै उम्मेदवार छनोटको मापदण्ड बारेमा छलफल हुने लगायतका एजेन्डाहरु रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।




























