
काठमाडौं । अमेरिकी सेनाले इरानसँग सम्बन्धित पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गरेपछि मध्यपूर्वमा सैन्य तनाव थप चुलिएको छ।अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम्) का अनुसार इरानले लगातार दुई दिनसम्म अमेरिकी युद्धपोतलाई निशाना बनाउने प्रयास गरेपछि त्यसको जवाफी कारबाहीस्वरूप ट्याङ्करहरूमाथि आक्रमण गरिएको हो।अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) सँग सम्बन्धित चारवटा तेल ट्याङ्करमा आक्रमण गरेको जनाएको छ। यस्तै, इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुनजिक रहेको अर्को एक ट्याङ्करलाई पनि ध्वस्त पारिएको सेन्टकम्ले जनाएको छ।खार्ग टापु इरानको प्रमुख तेल निर्यात केन्द्र हो, जहाँबाट इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा हुने बताइन्छ।ट्याङ्करमाथिको अमेरिकी आक्रमणपछि प्रतिशोधस्वरूप इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई लक्षित गरी २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जोर्डनी सेनाले जनाएको छ। तीमध्ये १८ वटा मिसाइललाई जोर्डनको वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको र बाँकी दुईवटा मानवरहित क्षेत्रमा खसेको सेनाले जनाएको छ। आक्रमणबाट मानवीय क्षति नभएको बताइएको छ।यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले कुवेत र बहराइनका बन्दरगाहमा रहेका अमेरिकी सम्पत्तिसँग सम्बन्धित तेल ट्याङ्करका चालक दलका सदस्यलाई तत्काल जहाज छाड्न चेतावनी दिएको छ। गार्ड्सले ती क्षेत्रमा थप आक्रमण हुन सक्ने संकेतसमेत दिएको छ।पछिल्ला घटनाक्रमसँगै अमेरिका र इरानबीचको सैन्य तनाव थप गहिरिँदै गएको छ भने मध्यपूर्वका अमेरिकी सैन्य तथा रणनीतिक केन्द्रहरूमा सुरक्षा सतर्कता बढाइएको छ।



























