
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२ वर्षीया बालिकाको शनिबार मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो।नोनथाबुरी प्रान्तको जनसम्पर्क विभागले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शनिबार साँझ ४ बजेसम्म घटनामा ९ जनाको मृत्यु भएको र १४ जना अझै अस्पतालमा उपचाररत रहेको जनाएको छ।नोनथाबुरीस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा विद्यार्थी तथा विद्यालयका कर्मचारीसहित धेरै जना घाइते भएका थिए। प्रहरीले ती किशोरले विद्यालय जानुअघि आफ्ना हजुरबुबा–हजुरआमामाथि समेत गोली चलाएको र पछि आफैंलाई गोली हानी मृत्यु भएको जनाएको छ।घटनामा घाइते भएकी १२ वर्षीया बालिकाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। उनको निधनप्रति विद्यालयले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।घटनाबारे प्रहरीले शनिबार विद्यालयका केही विद्यार्थी र शिक्षकसँग सोधपुछ गरेको छ। प्रहरीले गोली चलाउनुको कारण तथा प्रयोग भएको हतियार र गोलीको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।प्रहरीले प्रारम्भिक अनुसन्धानबारे आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। घटनापछि थाइल्यान्डमा विद्यालय सुरक्षा र बन्दुक नियन्त्रणसम्बन्धी बहस पुनः चर्किएको छ। प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बन्दुकसम्बन्धी नियम थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्।



























