
वीरगन्ज– वीरगन्ज महानगरको अनुगमन टोलीले मंगलबार बजार अनुगमन गरेको छ । बजार अनुगमनको बेला व्यवसायीहरूले भागाभाग गरेका थिए । होली पर्व नजिकिँदै गर्दा वीरगन्ज महानगर पालिकाको नेतृत्वमा महानगरमा बजार अनुगमन गरिएको हो ।
अनुगमन टोलीले बजार अनुगमन गरिरहँदा व्यापारीहरूले भने आफ्ना सटर पसलहरू नै बन्द गरेका थिए । टोलीले मंगलबार वीरगन्जको बाइपास र बसपार्क एरियामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीलाई कतिपय ठाउँमा ब्यापारीहरूबाट असहयोग भएको महानगरका खाद्य अधिकृत विपिन कुमार दासले बताए ।टोलीले बसपार्क एरियाको होटल, कोल्ड स्टोर र किराना पसलहरूमा अनुगमन गरेको टोलीमा संलग्न रहेका होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । अनुगमनको क्रममा बसपार्क एरियाका विभिन्न पसल र होटलहरूबाट म्याद गुज्रिएका लिची जुस, पेप्सी, लेयज, कुरकुरे र बियरहरू भेटिएका थिए । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामानहरू तत्काल जफत गरेर नष्ट गरिएको पन्तले बताए ।अनुगमन गर्दा पसल सटर बन्द गरी भागेका केही पसलहरूमा बजार अनुगमन समितिका संयोजक समेत रहेका वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलमको निर्देशनमा महानगरले सिल गर्न खोजेपछि केही व्यापारीहरू आफैले आफ्ना पसल र होटलहरू खोलेका थिए । केही व्यापारीहरूले मन्दीको समयमा विभिन्न निकायहरूले पटक पटक अनुगमन गरेर ब्यापारीहरूमा त्रास फैलाएकोमा आपत्ति समेत प्रकट गर्दै त्यस्को विरोध स्वरुप आफ्ना व्यवसायहरू बन्द गरेका थिए ।महानगरका खाद्य अधिकृत दासको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, नगर प्रहरी, नाप तौल कार्यालय, खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधी तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष पन्त र वीरगन्ज उद्योग वाणिज्य संघका मनोज दासको समेत उपस्थिति रहेको थियो ।karobar




























