
काठमाडौं : पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक लगातार घटेको छ। गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो।यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो।आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ मा खुम्चिएको छ। आजको कारोबारपछि कुल बजार पुँजीकरण रु ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ।सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै नेपाल फाईनान्स लिमिटेडको २२ अर्ब ७६ करोड ४१ लाख आठ सय नौ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार चार सय ९९ कित्ता शेयर किनबेच भएको छ ।




























