
काठमाण्डौ |ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको फ्ल्याटमा प्रहरीले छापा मारेको छ ।अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको हो। प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका-८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।उनीहरुको साथबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।




























