
काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको वनकालीमा बृहत् कोटीहोम महायज्ञमा भक्तजनको घुइचो लागेको छ ।मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संस्थाहरुको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको हो । महायज्ञ सम्पन्न हुन लाग्दा भक्तजनको घुइचो लागेको हो । सोमबार महायज्ञमा काभा महिला भलिबल नेसन्स लिगको उपबिजेता राष्ट्रिय महिला भलिवल टोलीका खेलाडीहरुका साथै भलिवल संघका पदाधिकारीहरु पनि सहभागी भएका थिए ।महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन भइरहेको छ । महायज्ञमा वाचन दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गरिसक्नुभएको छ भने भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्य महाराज पनि सहभागी हुनुभएको थियो ।विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान पनि भइरहेको आयोजकले जनाएको छ । ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको बताइएको छ ।




























