
काठमाडौं । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को हिसाबकिताब सार्वजनिक गरिएको छ ।बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोम महायज्ञका आयोजक विजय कृष्णमूर्तिले कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । कोटिहोम महायज्ञ आयोजनाका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए ।तर कोटिहोम लगाउने सिलसिलामा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले दिएको विवरणलाई आधार मान्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको देखिन्छ । तर कबोल गरिएकोमध्ये करिब दुई करोड रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए ।साउन महिनाभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो ।फाउन्डेसनले मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ ।‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।




























