
न्युयोर्क ।प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आह्वान गरेका छन्।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे ।‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गरे ।“नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन । बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ”, प्रधानमन्त्री ओलीले भने, “हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।”प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा सोमबार सम्बोधन गरेका छन् । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भेटवार्ता पनि गरेका थिए । उक्त भेटवार्तामा विकासोन्मुख देशहरूलाई आर्थिक सहयोग बढाउन र विकास कोषमा सरल पहुँचका लागि अन्तर्राष्ट्रिय वित्तीय संरचनाको गहिरो सुधारमा जोड दिए ।नेपालको संक्रमणकालिन न्याय टुग्याँउने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीसँग महासचिवले वातावरण जोगाउन,जलवायु परिवर्तनको एजेण्डा विषयमा समेत छलफल गरेको बताइएको छ ।उनले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसद्मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको स्पष्ट पारे ।




























