
पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोग लागेका रवि लामिछानेसहित ७ जनाविरूद्ध परेको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो।बुधबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।




























