
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले कवाड व्यवसायीमाथि गरिएको आक्रमणलाई लिएर हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन पनि बालेनलाई चुनौती दिए ।‘यो काठमाडौंको मेयरको नाजीवादी शैली चल्दैन । हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने, व्यवसाय गर्ने अधिकार छ’, उनले भने, ‘अहिले जसले जे पनि गर्ने जस्तो भएको छ । के यो न्याय मरेको देश हो ?’उनले मेयर बालेन तानाशाही भएर निस्केको पनि बताए । ‘जर्मनीको हिटलर र इटालीको मुसोलिनी जस्तै भएको छ काठमाडौंको मेयर’, उनले भने, ‘सरकारबाट अनुमति लिएर व्यवसाय गर्नेमाथि भएको यो धरपकड निन्दनीय छ ।’




























