
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको बताए । कांग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनको भनाइ छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतन्त्रमा मात्रै सबैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन आग्रह गरे ।उनले भने ,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।”




























