
नयाँ वर्षको दिन मीठो मसिनो खाएमा वर्षैभरी त्यस्तै मीठो मसिनो खान पाइन्छ भन्ने मान्यता रहि आएको छ । त्यसैले नयाँ वर्षको दिन आफन्तहरु एकै ठाउमा जम्मा भएर मीठो मीठो परिकार खाने चलन छ ।
नेपालमा रहेका नेपालीमात्र होइन, विश्वभर छरिएर रहेका नेपालीले यसैगरी एक आपसमा शुभकामना साटेर नयाँ वर्ष मनाउने गर्दछन् । पछिल्लो समय साथीभाईबीच शुभकामना आदानप्रदान गर्ने उपयुक्त थलो सामाजिक सञ्जाल भएका छन् । नयाँ वर्षले सबैमा खुसी र उमंगको सञ्चार छाएको छ । नयाँ वर्षले हरेक व्यक्तिमा नयाँ उत्साह, जोस र जाँगर ल्याएको हुन्छ । यस दिन वर्षभरि भए गरेका कामको समीक्षा गर्ने र आगामी दिनलाई थप आशावादी बनाउन नयाँ योजनाका साथ अघि बढ्नका लागि संकल्प गर्ने दिन पनि हो ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।



























