एसिया कप ट्रायथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जित्नुभएको छ ।पोखरा फेवातालमा शनिबार भएको ७५० मिटर पौडी, २० किमी साइक्लिङ ५ किमी दौड बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घण्टा ४ मिनट ५१ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।नेपाल ट्रायथलन सङ्घको आयोजनमा भएको २०२३ एसिया ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एसिया कपतर्फ दोस्रो स्थानमा पुरुषतर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दूरी ५५ मिनट ५७ सेकेन्ड र तेस्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पूरा गर्नुभयो ।महिलातर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोस्रो र तेस्रो हुनुभयो । विश्व ट्रायथलन महासङ्घको नियम बमोजिम घोषित कूल पुरस्कार राशि मध्ये शीर्ष तीनलाई क्रमशः ६३० अमेरिकी डलर, ५२५ डलर र ४२० डलर पुरस्कार प्रदान गरियो ।दक्षिण एसियन च्याम्पियनसिपमाको ट्रायथलनतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोल पहिलो हुनुभयो । उहाँले निर्धारित दूरी १ घण्टा ४ मिनट १६ सेकेन्डमा पूरा गर्नुभयो । भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका वसन्त थारु तेस्रो हुनुभयो ।महिलातर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहन पहिलो भारतकै मान्सी मोहिते दोस्रो र नेपालकी श्रेवी महर्जन तेस्रो हुनुभयो । जुनियर ट्रायथलनमा भारतले एकलौटी बाजी मारेको छ । भारतका खुन्द्रकपाम नगन्बा मैते पहिलो, पार्थ मिराज दोस्रो रश्रीदथ सुधीर तेस्रो हुनुभयो । महिलातर्फ भारतकी संजना सुनिल जोशी पहिलो, नेपालकी श्रेवी महर्जन दोस्रो र भारतकी देवकी शर्मा तेस्रो हुनुभयो । राष्ट्रियतर्फ पुरुषमा वसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । महिलातर्फ श्रेवी महर्जन पहिलो र केशरी थापामगर दोस्रो हुनुभयो ।फेवातालमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्बेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरी ४३ खेलाडीको सहभागिता रहेको थियो ।महिलातर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरी १५ खेलाडीको सहभागिता रहेको थियो । आइतबार दुवाथलन विधामा प्रतिस्पर्धा हुनेछ ।