
पुण्य प्रसाईकसैन कसैले हिम्मत गर्नु नै थियो गगन र विश्वले गरे जसले कांग्रेस र तिनका युवाको मात्र जोश र उत्साह बढेन बरु देशले नै राहत महसुस गरेको छ । र, देशको कलेक्टिभ आत्मविश्वास र आशा बढेको छ । देश गलत र अराजनीतिक मानिसको हातमा जाला कि भन्ने डरलाग्दो खतरा पनि नेपाली आकाशमा मडारिएको थियो । वास्तवमा गगन र विश्वले लिएका अडान र विचारहरु केवल ‘कर्मकाण्डी’ मात्र थिएनन् । यसलाई तीन कोणबाट हेर्न सकिन्छ,
गठबन्धन संस्कृतिको विरोधः गगन थापाले भविष्यमा निर्वाचन अघि कसैसँग गठबन्धन नगर्ने प्रस्ताव ल्याउनु देउवाको सत्ता केन्द्रित राजनीतिको मुटुमा प्रहार थियो । यो केवल चुनावी रणनीति होइन, कांग्रेसको मौलिक पहिचान जोगाउने साहस थियो । यो गठबन्धन संस्कृतिले नेपालको राजनीति कति सारो दुर्गन्धित भइसकेको थियो भने अब त देउवा, प्रचण्ड र ओली नै मिलेर जाने वार्ता पो चलाउन थालेका थिए, धत । यदि यस्तो भएको भए नेपाल देश कति सारो निराशाको दलदलमा फस्थ्यो भने यी तिन टाउकेको सरकार बनेको १०० दिन नपुगी युवाले यिनको देश लुटेर खाने गठबन्धनको सरकारलाई अर्को भयानक क्रान्ति गरेर पातालमा जाकिदिन्थे । र, यसपालि यिनीहरु भाग्नका लागि हेलिकप्टर पनि पाउँदैन थिए ।एक्जिट पोलिसीः विश्वप्रकाश शर्माले पहिलैदेखि राष्ट्रपति १ पटक, प्रधानमन्त्री २ पटक सांसद ३ पटक भन्दै नेतृत्वको बहिर्गमनको कुरा उठाउनुले छैटौं पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवालाई सीधा चुनौती दिनु थियो । अब अहिले त विशेष अधिवेसनले प्रधानमन्त्री एक पटक मात्र बन्ने विधान बनाउन चाहँदैछ । वास्तवमा जसले पहिलो मौका पाउँदा काम देखाउन सक्दैन त्यसले ६ पटक त के दश पटक वा जीवनभरि बने पनि केही गर्न सक्दैन ।
भ्रष्टाचार र सुशासनः आफ्नै पार्टीका नेताहरू भ्रष्टाचारमा मुछिँदा दोषी जोगाउनु हुँदैन भन्नु पार्टीभित्रको परम्परागत संरक्षणवाद विरुद्धको विद्रोह पनि बन्दैछ यो विशेष अधिवेसन ।
अब आज भृकुटीमण्डपमा उत्रिएको कांग्रेसी जनसागरले देउवा र उनको कोटरीले गगन र विश्वको विचार स्वीकार गर्नु नै श्रेयस्कर हुन्छ है भनिरहेको छ तर यो सहज छैन। एक किसिमले आज उदघाटनमा नआएर देउवा र उनका सात भाइ चुकिसकेका छन् सायद यिनीहरुले गगन र विश्वलाई अन्डरस्टिमेड गरेका थिए । त्यसैले त भन्न सकिन्छ यी बूढा नेताहरु आप्नै कार्यकर्ताको त भावना समेत त बुझदैनन् भने जनतालाई के बुझन सक्थे । आखिर यी बूढा नेताहरु किन यति मुढ बुद्धिका हुन पुग्छन् ?सत्ताको मोहः हो सत्ता मोहले नै यिनीहरुलाई अन्धो बनाउँछ । शेरबहादुर देउवाको राजनीति ‘सत्ता प्राप्ति र शक्ति सन्तुलनमा केन्द्रित छ । गगन र विश्वको ‘जनमुखी, वैचारिक र आदर्शवादी राजनीतिले देउवाको ‘व्यावहारिक सत्तामुखी राजनीतिलाई कमजोर बनाउँछ। त्यसैले उनीहरू सजिलै नेतृत्व हस्तान्तरण वा विचार स्वीकार गर्ने पक्षमा देखिँदैनन् ।गुटगत स्वार्थ अर्को भयानक रोग हो । देउवा वरिपरि रहेका धेरै नेताहरूको राजनीतिक अस्तित्व देउवाको शक्तिमा अडिएको छ । गगन र विश्व हाबी हुँदा आरजु राणा देउवा वा अन्य पुराना नेताहरूको स्पेस साँघुरिने डर उनीहरूमा थियो त्यसैले उनीहरु बूढा देउवालाई ढाल बनाएर आफनो अस्तित्व रक्षाका लागि जालझेल गरिरहेका छन् । यदि गगन र विश्वले आफनो राजनीतिक करिएर जोखिममा राखेर यो हिम्मत नगेका भए कांग्रेसी युवामा आउने निराशा, पलायन र वैकल्पिक शक्ति तर्फको आकर्षण एकदमै बढेर जाने थियो । यदि संस्थापन पक्षले यो परिवर्तनको आवाजलाई दबाउन खोजेको भए परिणाम अझ घातक हुन सक्थ्यो । कांग्रेस भित्रै चरम निराशा, कार्यकर्ताहरूमा जति गरे पनि नेतृत्व सुध्रिँदैन भन्ने सन्देश जाने थियो । यसले पार्टीलाई निष्क्रिय बनाउनुका साथै, संगठन भित्रैबाट कमजोर हुने नै थियो ।युवा पुस्ताको राजनीतिक पलायन ह्वात्तै बढेर जाने थियो । अहिले नै हजारौं युवा विदेशिइरहेका छन् । आशा लाग्दा नेताहरू गगन र विश्व नै निरीह बनेको देखेपछि युवाहरूले कांग्रेसमा मात्र होइन नेपालमैआफ्नो भविष्य एकदमै देख्ने थिएनन्।
वैकल्पिक शक्तिहरूको उदय, राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा, बालेन शाह जस्ता स्वतन्त्र धार र अन्य नयाँ शक्तिहरूको उदय कांग्रेसको असफलताको जगमा भएको हो । कांग्रेस नसुध्रिएको भए यो २०८२ को चुनावमा कांग्रेस ओलीको उदारता पछि पनि तेस्रो वा चौथोू शक्तिमा खुम्चिने खतरा रहथ्यो ।गगन थापा र विश्वप्रकाश शर्माले नीतिगत रूपमा ठिक समयमा पार्टीको सर्जरी गरेका छन्, जबकि पुरानो नेतृत्व पेनकिलर खाएर रोग दबाउन चाहन्थे । अब कांग्रेसको डाक्टर ओलीलाई बनाएर ०८२ को निर्वाचनमा जाने देउवाको सोच कति मूर्खतापूर्ण थियो जबकि उनी आफूसँगै गगन र विश्वजस्ता अब्बल राजनीतिक डाक्टरहरु थिए । देउवाले ती डेट एक्स्पाएर सात भाइ बूढाको साटो यी युवाको काँधमा जुवा नारेका भए कांग्रेस उर्वर हुने थियो । देउवाले अब १२ घण्टापछि हुने बन्दसत्रको उदघाटन गर्दै अभिभावकको भूमिकामा बस्नु र गगन र विश्वको एजेन्डालाई पार्टीको आधिकारिक एजेन्डा बनाउन दिनू नै बुद्धिमानी हुन्छ। यसले उनको ऐतिहासिक विरासत पनि जोगिन्छ र पार्टी पनि बच्छ। यो उनले कांग्रेसलाई मात्र होइन देशलाई नै लाएको ठूलो गुण हुन्छ । किनकि यो केवल कांग्रेस सुद्धिकरणको मात्र कुरा होइन, यो सुशासन, देशको भ्रष्टाचार निर्मूल पार्ने र नीति निर्माण गर्ने सवाल हो । कांग्रेस जस्तो ठूलो लोकतान्त्रिक पार्टी भित्रको विद्रोही स्वर गगन र विश्वले जित्यो भने त्यसले देशको समग्र राजनीतिमा जवाफदेहिता बढाउँछ। तर, पुरानो नेतृत्वले यसलाई अहंकारको लडार्इं बनायो भने कांग्रेस इतिहासकै कमजोर मोडमा पुग्ने निश्चित छ । यहाँनेर सचेत बनौं कांग्रेसी युवा ।




























