
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन् ।बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।उद्धार टोलीले गाडीभित्र रहेका मियालाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।



























