
काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटक संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो ।गत वर्ष जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए भने कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो । यस आधारमा हेर्दा, यस वर्षको जुनमा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको देखिन्छ ।जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन् ।अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् ।अमेरिकी महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक नेपाल आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान तथा प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसारका कारण नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढिरहेको बताए । उनका अनुसार नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविले पनि पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको छ ।पर्यटन बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।



























