
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् भने थप १० जना बेपत्ता भएको आशंका गरिएको छ ।बुधबार राति करिब ८ः४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका थिए । पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई स्थानीयवासीको सहयोगमा राति करिब ११ः५५ बजे घाइते अवस्थामा उद्धार गरिएको थियो ।थप उद्धार तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहित १३ जनाको टोली बिहीबार बिहान घटनास्थल पुगेको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेर उद्धार कार्यको अवस्थाबारे जानकारी लिएका छन् ।प्रारम्भिक विवरणअनुसार पहिरोमा थप १० जना पुरिएको आशंका गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, स्थानीयवासीसहितको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण केही व्यक्तिसँग सम्पर्क हुन नसकेकाले घटनाको थप क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



























