
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र अन्तर्राष्ट्रिय सहयोगबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराएका छन्।परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए।ब्रिफिङमा मन्त्री खनालले भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित रसुवागढीमा भोटेकोशी नदीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएको बताए।उनले उक्त विपद्लाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै हालसालैको स्मृतिमा नेपालले यस्तो प्रकृतिको विपद् अनुभव नगरेको बताए।‘यो विनाशकारी बाढीलाई म हिमालयन सुनामी भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,’ उनले भने।मन्त्री खनालका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनजीवन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ।सरकारले बाढीको कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको जानकारी दिँदै उनले सम्बन्धित प्राविधिक विज्ञको सहयोग लिइरहेको बताए।मन्त्री खनालले विपद् भएको पहिलो दिनदेखि नै खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, उपचार र राहतलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषद्का आकस्मिक बैठक तत्काल बोलाएर उपलब्ध राष्ट्रिय स्रोत–साधन परिचालन गरिएको उनले बताए।उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगै संघ, प्रदेश तथा स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, आपत्कालीन उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदाय उद्धार तथा राहतमा निरन्तर खटिएका छन्। खोज, उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।विदेशी नागरिकको सुरक्षा प्राथमिकतामापरराष्ट्रमन्त्री खनालले विदेशी नागरिकको सुरक्षा र कल्याण सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनका अनुसार परराष्ट्र मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग निरन्तर समन्वय गरिरहेको छ।मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगहरूले बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने, पहिचान प्रक्रियामा सहजीकरण गर्ने तथा आवश्यक परे स्वदेश फिर्तीको व्यवस्था गर्न सहयोग गरिरहेको उनले बताए।मन्त्री खनालले भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, अस्ट्रेलिया, बेलायत, जर्मनीलगायत सहयोग गर्ने मित्रराष्ट्रप्रति आभार व्यक्त गरे।त्यसैगरी, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्था तथा मित्रराष्ट्रबाट प्राप्त सहयोगप्रति पनि उनले धन्यवाद दिए।उनका अनुसार अन्तर्राष्ट्रिय सहयोग उद्धारसम्बन्धी विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा तथा फरेन्सिक सहयोग र आर्थिक सहायताका रूपमा प्राप्त भएको छ।पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग मागिनेभोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठूलो परिमाणमा स्रोत आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको मन्त्री खनालले बताए।क्षतिको विस्तृत मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक स्रोतबारे अन्तर्राष्ट्रिय साझेदारलाई आधिकारिक माध्यमबाट जानकारी गराइने र पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरिने उनले बताए।अन्तर्राष्ट्रिय सहयोगलाई पारदर्शिता, जवाफदेहिता र स्पष्ट लक्षित क्षेत्रका आधारमा व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको पनि उनले स्पष्ट पारे।मौद्रिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन भइरहेको जानकारी दिँदै उनले विपद्को नाममा ठगी हुन सक्ने भएकाले नक्कली क्यूआर कोड, लिंक तथा बैंक खाताप्रति सचेत रहन आग्रह गरे।‘नेपाल खुला छ’मन्त्री खनालले भोटेकोशी विपद्लाई तत्कालीन मानवीय संकटका रूपमा मात्रै नभई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेर्नुपर्ने बताए। जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा विपद् प्रतिरोधी पुनर्निर्माणलाई कागजी प्रतिबद्धताबाट व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।उनले रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपद्को ठूलो प्रभाव परे पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुला रहेको बताए।देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण, सगरमाथा र बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्य पर्यटक स्वागतका लागि खुला रहेको बताए।पर्यटन नेपाली जनता तथा स्थानीय समुदायका लागि महत्वपूर्ण जीवनरेखा भएकाले विपद्को कठिन समयमा पनि पर्यटक आगमनलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्ना नागरिक तथा सरकारलाई नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्दै मन्त्री खनालले भने, ‘नेपाल खुला छ र हाम्रो देशले चिनिएको त्यही न्यानोपन र आतिथ्यताका साथ यात्रुहरूलाई स्वागत गर्न तयार छ।’ब्रिफिङको अन्त्यमा मन्त्री खनालले विपद्को कठिन घडीमा नेपालले छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।



























