
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको घरमै पुर्याइने भएको छ ।यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात विद्यार्थीले उपलब्ध गराएको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्याइनेछ ।२२ बुँदामा समेटिएको सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रको व्यवस्थित ढुवानी र वितरणका लागि हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित दर्ता गर्ने व्यवस्था गरिएको छ । यसबाट कागजातको अवस्थाबारे जानकारी लिन तथा निर्धारित ठेगानामा पुगे–नपुगेको अनुगमन गर्न सहज हुनेछ ।कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवालाई हुलाक सेवासँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे ।



























