
काठमाडौं - आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर खरेल र श्रेष्ठले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशले असल र इमानदार व्यक्तिको खोजी गरेको टिप्पणी गरे । उनले भने,‘देशमा सुशासन कायम गर्छु, परिवर्तन ल्याउँछु भनेर आज गंगाजी र ओमजीले यहाँ प्रतिनिधिसभाको लागि उम्मेद्धवारी घोषणा गर्नुभएको छ, यो खुशीको कुरा हो । उहाँहरु दुवै जना असल व्यक्तित्व हो । काभ्रे, मेरो जिल्लापनि हो, काभ्रेको क्षेत्र नम्बर २ बाट गंगाजी उठ्ने घोषणा गर्नुभयो, अर्को सूर्य उदाउने जिल्ला झापा ३ बाट ओमजी उठ्दै हुनुहुन्छ, मेरो उहाँहर दुवैजनालाई हार्दिक शुभकामना छ ।’आज उम्मेद्धवारी घोषणा गरेका श्रेष्ठ र खरेल दुवैले अरुभन्दा फरक ढंगले काम गर्छु भनेर घोषणा गरेको भन्दै उनले देश र जनताको लागि राम्रो काम गरेर देखाउन शुभकामना समेत दिए । उनले भने,‘उहाँहरुले बेथिती र बिसंगति अन्त्य गर्छु भनिसक्नुभएको छ । उही पूराना राजनीतिमा लागेका पेशाकर्मीजस्तै भूल गर्नुभयो भने जनताले क्षमा दिने छैनन् । माटोमा जान र मनले सेवा गर्नुहोस भन्ने शुभकामना दिन्छु ।’उनले नेपालका एकजना बरिष्ठ अधिवक्ताले देशमा सुरक्षाको खतरा देखेर अमेरिका जान लागेको भनेको प्रसंग उठाउँदै देशको अवस्था हुनु दुःखदायी कुरा भएको टिप्पणी गरे । उनले भने,‘मसँगको भेटमा उहाँले यो देशमा मेरो सुरक्षा भएन, म अमेरिका जाँदैछु भन्नुभयो, अमेरिका गएपछि सोसल, हेल्थ सेक्युरिटी हुन्छ भन्नुभयो । हामी त यही देशमा स्वास्थ्यलगायतका सुरक्षा दिन कटिबद्ध छौं ।’उनले सम्पत्ति शुद्धिकरणको रिपोर्टमा नेपाल फेरि ब्ल्याक–स्टेट हुन लागेको विषय पनि उल्लेख गरे । उनले भने,‘यो देशमा सिमित व्यक्तिहरुले नेपाल आमालाई दोहन गरेको छन् । उहाँहरु देशलाई चिथोरिरहनुभएको छ । यो देश फेरि ब्ल्याक स्टेट हुँदैछ । अहिले भएको होईन, विगत ३२ वर्षदेखि नै उहाँहरु कुशासनमा व्याप्त हुनुभयो । त्यसकै कारण यो अवस्था आएको हो । अब यस्ता विकृति तथा विसंगतिको विरुद्धमा उत्रिनुपर्छ । हामी देशको लागि केही गर्छौं भन्नेहरु एकताबद्ध हुनुपर्छ । छिन्नभिन्न नहोऔं । हामी त त्याग गर्न तयार छौं । असल मानिसलाई भोट दिनुपर्छ । असल व्यक्तित्वलाई भोट दिनुपर्छ ।’उनले आफू उठ्ने चुनाव क्षेत्रमा आफूभन्दा असल कोही उम्मेद्धवार आए आफूपनि भोट दिन तयार रहेको स्पष्ट पारे । उनले भने,‘जुनसुकै पार्टीको होस, असल व्यक्ति आउनुपर्छ । धोका नदिने व्यक्तित्वको खाँचो छ ।’




























