
१६औँ संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स सङ्घले फागुन २३ गते च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।नेपालले २४ वर्षपछि एसियन क्रस कन्ट्री च्याम्पियनसिप आयोजना गर्न लागेको नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिनुभयो । च्याम्पियनसिपका खेलहरू गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा निर्मित ट्र्याकमा हुनेछ । यसअघि सन् १९९९ मा गाकेर्णमै यस च्याम्पियनसिप आयोजना भएको थियो ।लामो समयपछि नेपालले आयोजनाको अधिकार पाएको यस च्याम्पियनसिपलाई नेपालको खेल पर्यटन र आर्थिक हिसाबले महत्त्वका साथ हेरिएको सङ्घका अध्यक्ष शाहले बताउनुभयो । एसियन एथलेटिक्स एसोसिएसनको तत्त्वावधानमा हुने प्रतियोगितामा एसियाका २५ देखि ३० देशका करिब तीन सय ६० खेलाडीको सहभागिता रहनेछ ।च्याम्पियनसिपमा सिनियर पुरुष र महिलातर्फ १० किमी, यू–२० वर्षमुनि जुनियर पुरुषको ८ किमी र यू–२० वर्षमुनि महिला जुनियरतर्फ ६ किमी गरी चार स्पर्धा समावेश गरिएको छ । एउटा देशले एक स्पर्धामा पाँच जनासम्म खेलाडी सहभागी गराउन पाउनेछ ।यस च्याम्पियनसिपका नेपालबाट सहभागिता जनाउने खेलाडीको फागुन ९ गते खुला छनोट हुने र छनोटमा पर्न सफल खेलाडीलाई १० दिन बन्द प्रशिक्षणमा राखिने सङ्घले जनाएको छ । च्याम्पियनसिपमा जापान, ताइवान, हङकङ, कोरिया लगायत देश बलिया प्रतिद्वन्द्वी हुन् । नेपालले कम्तीमा दक्षिण एसियाली देश (साग क्षेत्र) मा राम्रो नतिजा ल्याउने लक्ष्य राखेको एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो ।प्रतियोगिता सम्पन्न गर्न तीन करोड ६५ लाख ५५ हजार पाँच सय रुपियाँ खर्च हुने बताइएको छ । जसका लागि बागमती प्रदेश खेलकुद परिषद्ले ३० लाख रुपियाँ सहयोग गरेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।‘‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनु भनेको खेलकुदसँगै देशको आर्थिक विकासमा सहयोग पुग्ने हो । यसबाट नेपाली खेलाडीले पनि थप एक्पोजर पाउनेछन् । विदेशका राम्रा खेलाडी नेपालमा आउँदा नेपाललाई नै फाइदा हुने भएर सहयोग गरेका हौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारले पनि यसलाई सफल पार्न सहयोग गर्ने अपेक्षा गरेका छौँ,’’ भण्डारीले भन्नुभयो ।च्याम्पियनसिपलाई एसियन एथलेटिक्स एसोसिएसनले पनि २५ हजार अमेरिकी डलर सहयोग गरेको सङ्घले जनाएको छ । च्याम्पियनसिपमा खेलाडी र अफिसियलको आवासका लागि मात्र एक करोड ५० लाख रुपियाँ खर्च हुने बताइएको छ । च्याम्पियनसिपको दौरानमा एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्षलगायत पदाधिकारी पनि नेपाल आउनेछन् ।Source:Gorkhapatra




























