
भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ ।‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज (मङ्गलबार) पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उहाँलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदन उपर भोलि (बुधबार) सुनुवाइ हुने बताइएको छ ।पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खानलाई गत शनिबार पक्राउ गरिएको थियो । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हट्नुभएका उहाँमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उहाँलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।पूर्वप्रधानमन्त्री खानलाई राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ऐतिहासिक एटक शहरको बाहिरी भागमा रहेको औपनिवेशिक युगको जेलमा राखिएको छ । तल्लो स्तरको उक्त जेलमा अमानवीय ढङ्गले उहाँलाई राखिएको उहाँका वकिल मिसाल युसुफजाईले बताएका छन् ।“अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ । मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ । अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी–क्लासको सेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,”७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न माग गरिएको उल्लेख गर्दै युसुफजाईले बताए । रासस/एएफपी




























