
शेयर धितो कर्जाको सीमा बढाएपछिको दोस्रो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक १ दशलमव ८२ प्रतिशत अर्थात् ३५ दशलमव ६७ अंक घटेको छ । यससँगै परिसूचक १ हजार ९२१ दशमलव २४ विन्दुमा झरेको हो ।गत बिहीवार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, संस्थागत लगानीकर्ताका लागि शेयर धितो कर्जाको सीमा पनि बढाएर २० करोड रुपैयाँ पुर्याइएको छ ।शेयर धितो कर्जाको सीमा बढाउनुपर्ने माग राख्दै आएका लगानीकर्ताहरू यसको सीमा बढे पनि बजारप्रति सकारात्मक बन्न नसक्दा आइतवार बजार घटेको नसकेको जानकार बताउँछन् ।तर, यो समय लगानीका लागि उपयुक्त मानिएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार अहिले बजार घटेका कारण कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ भने लाभांश घोषणाको सिजन पनि चलिरहेको छ ।आइतवार सेन्सेटिभ इन्डेक्स १ दशलमव ५५ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८३ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६८ प्रतिशत घटेको छ । २८९ धितोपत्रको ५८ लाख १५ हजार १८९ कित्ता शेयर ५९ हजार १७१ पटकमा रू। १ अर्ब ८० करोड बराबरको शेयर कारोबार भएको छ ।कारोबारमा आएका धितोपत्रमध्ये बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ५५१ पुगेको हो । त्यस्तै सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाई मूल्य ९ दशमलव ४१ प्रतिशत बढेर रू। ८ दशमलव ५० पुगेको छ ।आइतवार दुई धितोपत्र मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेको हो । हिमालन लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू। ६८० दशमलव ४० मा झरेको छ ।यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेण्टले ओगटेको छ । कम्पनीको रू। ६ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य रू। ५१९ दशमलव ९० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू। ५ करोड ५७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २ दशलमव ७५ प्रतिशत घटेको छ । त्यस्तै जीवन बीमा समूहको २ दशमलव २८ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक २ दशमलव ३५ प्रतिशत घटेको छ ।




























