
नेपालको पर्यटन दिगो प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले एसियाली विकास बैंक (एडिबी)ले रू. १६ अर्ब ६० करोड बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । जीवनयापन सुधार परियोजना कार्यान्वयनमा उक्त सहायता परिचालन गरिनेछ ।रूपन्देहीका देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्र सबल बनाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले बिहीवार स्वीकृत गरेको हो ।बैंकको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोपप्रतिरोधी शहर निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र दिगो आर्थिक विकास गर्ने नेपाल सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो । उक्त वित्तीय प्याकेजअन्तर्गत रू. ६० करोड अनुदान सहायता हो । शहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् ।




























