
काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ । यो जितसँगै नेपालले चार खेलको शृंखलामा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि नेपाल ‘ए’ले अमेरिकालाई तीन विकेटको हराएको थियो । टोली स्कटल्यान्डविरुद्ध पहिलो खेलमा ४५ रन र दोस्रो खेलमा डीएलएसका आधारमा नौ रनले विजयी भएको थियो ।आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५७ रन बनायो ।अमेरिकाका सेहान जयासूर्याले ७१ रनको इनिङ खेले । उनले ६७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । शुवम रन्जानेले ४७, सन्जय जहान्गिरले ४१ र स्मित पटेलले ३३ रन जोडे । साइतेजा रेड्डी मुक्कामल्लाले १६ र मिलिन्द कुमारले १३ रन बनाए ।नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । उनले ७.१ ओभरमा एक मेडनसहित ३० रन खर्चिए । बसिर अहमदले तीन विकेट हात पारे । शाहब आलम र पवन सराफको नाममा समान एक विकेट रह्यो ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर२६४ रनको योगफल खडा गरेको थियो ।नेपाल ‘ए’का सन्दीप जोराले १११ रनको शतकीय इनिङ खेले । उनले ११५ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० र नारायण जोशीले १६ रन बनाए । अमेरिका सौरभ नेत्रावाल्करले सर्वाधिक तीन विकेट लिए । जसदीप सिंहले दुई विकेट हात पार्दा शुवम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगरकरको नाममा समान एक विकेट रह्यो ।



























