
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंस्थित टियु क्रिकेट मैदानमा जारी छ ।टस जितेको स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गर्ने भएको छ ।आजको खेलका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, विनोद भण्डारी र करण केसी रहेका छन् ।नेपाल र स्कटल्याण्डबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो ।हाल जारी लिग–२ को अंक तालिकामा नेपाल २४ खेलबाट ८ जित, १४ हार र २ खेलमा अंक बाँड्दै १८ अंकसहित सातौं स्थानमा रहेको छ । यता स्कटल्याण्ड २८ खेलबाट १४ जित, ८ हार र ६ खेलमा अंक बाँड्दै ३४ अंकसहित दोस्रो स्थानमा छ ।यस सिरिजअन्तर्गत मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा पुनः नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिकाबीच खेल हुनेछ ।



























