लेखकः ओमप्रकाश खरेल
मानव सभ्यताको इतिहासमा दास प्रथा एक घिनलाग्दो प्रथा थियो । यो अमानवीय अभ्यास प्रागऐतिहासिक युगबाट नै शुरु भएको थियो । त्यस बेला भएका युद्धहरुमा विजेता पक्षका सैनिकहरुले पराजितलाई आफ्नो घरमा, खेतमा र अन्य विभिन्न स्थानहरुमा काम गर्न दास बनाएर लैजान्थे । उक्त विजेता मालिकलाई दासको जीवन र मृत्युको निर्णयको अधिकार हुन्थ्यो तर मानव हृदयमा उठेको स्वतन्त्रताको किरणलाई भने कहिल्यै पनि समाप्त गर्न सकिदैन थियो । रोमन साम्राज्यका दासहरुमा त्यस्तै नै भएको थियो । तिनीहरुले आफू उपर गरिएको अमानवीय र पाशविक कृत्यका विरुद्धमा विद्रोह गरे । दुई पटकसम्म रोमन साम्राज्य तिनीहरुको विद्रोहलाई दबाउन सफल भयो । तर तेस्रो पटकचाहिं एक थ्रेसियन दास स्पार्टाकसको नेतृत्वमा तिनीहरुले स्वतन्त्रताको मार्गमा आफूलाई अघि बढाए । यही विद्रोहलाई नै मानव बन्धक विरुद्धको पहिलो क्रान्तिको रुपमा लिइन्छ । रोमन साम्राज्यको शक्तिशाली सेनालाई पराजित गरेर स्पार्टाकस आफ्ना हजारौं दास साथीहरुलाई स्वतन्त्रता दिलाउन सफल भएका थिए । अत्यधिक संख्या र हातहतियारले सुसज्जित र संगठित रोमन सैनिकहरुलाई पराजित गर्न स्पार्टाकसले अल्पाइन भञ्ज्याङको मार्ग छनोट गरेका थिए । उक्त विद्रोहमा पक्राउ परेका दासहरुलाई रोमन सैनिकहरुले रोमबाट कपुआ जाने बाटोको दुवैतिरका रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । यसरी ६ हजारभन्दा बढी दासहरुलाई फाँसी दिइएको थियो । उक्त फाँसी दिनु पहिले तड्पाइ तड्पाइ यातना दिइएको थियो । दासजस्तो क्रूर, अमानवीय, पाशविक र घिनलाग्दो प्रथालाई जरैदेखि उखेलेर फ्याँक्न नसके पनि स्पार्टाकस र उनका बहादुर दास साथीहरुले मानव स्वतन्त्रताको लागि विद्रोहको इतिहास रचेर आफूलाई अमर तुल्याए । यो क्रान्ति मानव जातिको स्वतन्त्रताको लागि विश्व इतिहासमा महान् पाठ बनेर बाँचिरहेको छ ।दास प्रथा मानवजातिको उत्पत्ति जत्तिकै प्राचीन छ । यो घृणित प्रथाले मानव समाजमा तब आफ्नो जरा गाड्यो जब एउटा जातिले अर्को जातिमाथि आफ्नो प्रभाव र नियन्त्रण कायम गर्न दबाउने प्रक्रिया शुरु ग¥यो । त्यस बेलाको चलन नै यस्तो थियो कि पराजितहरुलाई दास बनाएर विजेताहरुले श्रम गराउन लैजाने गर्दथे । तत्कालीन विशाल रोमन साम्राज्यको समृद्धिको मेरुदण्ड नै त्यहाँ रहेका ठूलो संख्याका दासहरु थिए जसले अथक र अनन्त श्रम रोमन भूमिमा पोखेर त्यसलाई उन्नतिको शिखर चुमाएका थिए । पशुजस्तै किनबेच गरिने तिनीहरुलाई पशुभन्दा गतिलो कुनै व्यवहार गरिदैनथियो । तिनीहरुले आफ्ना मालिकले आदेश दिएका हरेक कुराहरु पालना गर्नुपर्दथ्यो । खासगरी युरोपियनहरुले अफ्रिकन जातिहरुलाई दास बनाएको पाइन्छ । पछि गएर अमेरिका पत्ता लागेपछि युरोपका गोरा जातिहरुले अफ्रिकाका काला जातिहरुलाई त्यहाँको निर्माण कार्यमा लगाउन दास बनाएर अमेरिका पु¥याएका थिए । त्यस बेला दासहरु कहिल्यै पनि सुखी जीवनको सपना देख्दैनथे, बरु मृत्युमा उनीहरु मुक्तिको आशा राख्दथे ।
तर पहिले भनिएझैं मानिसहरुलाई दास बनाएर जति नै दबाउन र दुःख दिन चाहे पनि मानव हृदयमा प्रज्ज्वलित भएको स्वतन्त्रताको ज्वालालाई भने निभाउन कसैले सक्दैनथ्यो । त्यसैले कुनै कुनै बेला यी दासहरुले आफ्नो भाग्यको निर्माता हुन र स्वतन्त्रता पाउनको लागि सानातिना विद्रोहका प्रयासहरु भने जारी राखेका थिए । रोमन साम्राज्यको उत्थान र पतनको बेला यस्ता केही घटनाहरु भएका थिए । तत्कालीन रोमका दासहरुले अलि ठूलो खालका विद्रोहहरु तीन पटक गरेका थिए । रोमन साम्राज्यका ती दासहरु विरुद्ध अति धेरै शोषण, अन्याय र अमानवीय क्रियाकलाप गरिन्थ्यो । ती तीनवटा विद्रोहहरु मध्ये पहिलो दुई वटालाई तत्कालीन शक्तिशाली रोमन साम्राज्य सजिलैसँग दबाउन सफल भएको थियो । तर तेस्रो विद्रोह जुन जीसस क्राइस्ट जन्मनुभन्दा त्रिहत्तर वर्ष पहिला भएको थियो, चाहिं दास क्रान्तिको इतिहासमा महङ्खवपूर्ण र एक गौरवमय ज्योति साबित भएको थियो । उक्त विद्रोहको नेतृत्व एक थे्रसियन लडाकू दास स्पार्टाकसले गरेका थिए । उनको प्रभावशाली नेतृत्वमा ठूलो संख्यामा दासहरु विद्रोहमा उत्रिएका थिए । त्यो महान् विद्रोह त्यस बेलाको सबैभन्दा शक्तिशाली सैन्य क्षमता भएको रोमन सैनिक विरुद्ध चार वर्षसम्म प्रभावशाली रुपमा चलेको थियो । केही समयको लागि भए पनि उक्त क्रान्तिले रोमन साम्राज्यको जगलाई गम्भीर तवरले हल्लाउन सफल भएको थियो ।
यो दास विद्रोहको बारेमा जान्नुभन्दा पहिले तत्कालीन रोमन साम्राज्यको चरित्रको बारेमा बुझ्नु आवश्यक हुन्छ । जीससको जन्मभन्दा पाँच शताब्दी पहिले रोमका अन्तिम सम्राट टार्किन द प्राउडलाई उनको बेइमानीको कारण पदमुक्त गरिएको थियो । ती सम्राट आफ्नो अनैतिक र भ्रष्ट चरित्रको कारण जनताहरुको लागि असह्य बनेका थिए । त्यसपछि रोमन जनताहरुले राजसंस्था राज्यको लागि घातक भएकोले त्यो संस्था हटाएर गणतन्त्र स्थापना गर्ने निर्णय गरे । सम्राटलाई राज्यबाट हटाएर गणतन्त्र स्थापना गर्नको लागि प्रमुख भूमिका खेलेका रोमन राजनीतिका प्रमुखहरुले राज्य चलाउनका लागि सिनेटको स्थापना गरे । उक्त सिनेटका दुई सदस्यहरुलाई राज्य सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय भयो । यी दुई राज्य सल्लाहकारहरुले सिनेटको आदेशअनुरुप शासन गर्नुपर्दथ्यो र हरेक वर्ष यस्ता सल्लाहकारहरु परिवर्तन हुन्थे, किनकि पुनः रोममा राजतन्त्रको बीज नरोपियोस् । यसकारण रोमका जनताहरु स्पष्टरुपमा दुई समूहमा बाँडिए । पहिलो वर्गकाहरु कुलीन थिए, जो राज्य संचालन गर्ने अधिकार प्राप्त थिए । तिनीहरुलाई पेट्रिसियन भनिन्थ्यो । दोस्रो वर्गकाहरु संख्यामा बढी थिए र तिनीहरुलाई प्लेबियन भनिन्थ्यो र यिनीहरु तुलनात्मक रुपमा आर्थिक अवस्थामा पहिलो वर्गभन्दा कमजोर थिए । यिनै रोमन नागरिकहरुले आफ्ना प्रतिनिधिहरुको छनोट गर्दथे ।
रोमन साम्राज्यमा यी दुई समूह बाहेक अर्को समूह पनि थियो र त्यो समूहलाई दास भनिन्थ्यो । यो तेस्रो समूह रोमन गणतन्त्रको समृद्धि, प्रभाव र विकाशमा मेरुदण्ड साबित भए पनि तिनीहरुलाई राज्यले कुनै पनि अधिकार दिएको थिएन । यसरी रोमन गणतन्त्रले दास र मालिकको अप्राकृतिक समीकरणमा आधारित घृणित समाजलाई विकसित गरिरहेको थियो, जहाँ दासहरुलाई कुनै पनि अधिकार दिइएको थिएन भने मालिकहरुलाई सबैथोक, यहाँसम्म कि दासहरुको जीवन र मृत्युको निर्णय लिने अधिकार पनि थियो । रोमन साम्राज्य प्युनिक वारपछि झनै शक्तिशाली र समृद्ध बन्दै गयो । ११३ बी. सी. मा दुई दाजुभाइ टाइबेरियस र गसले रोमन समाज र राजनीति सुधार गर्ने प्रयास गरे । तिनीहरुको विचार धनी मानिसहरुले धेरै जमिन राख्न पाउनु हुँदैन भन्ने थियो । आफ्नो विचारलाई समर्थन गर्न उनीहरुले पुराना पुराना नियमहरुलाई देखाए । समाज र राजनीति सुधार सम्बन्धी ती दाजुभाइको विचारलाई कुलीन वर्गले रुचाएनन् र आफ्नो मनोमानीमा केही बाधा उत्पन्न होला भन्ने ठानेर तिनीहरुको हत्या गर्ने षड्यन्त्र गरे । नभन्दै षड्यन्त्रपूर्वक तिनीहरुको हत्या गरियो । ती दुई दाजुभाइको हत्याले रोमन साम्राज्यको जग नै हल्लाउने गरी राज्यलाई गृहयुद्धतर्फ डोहो¥यायो ।
रोमन साम्राज्यको यही खराब र अस्पष्ट अवस्थामा त्यहाँका दासहरुले तीन पटकसम्म विद्रोह गरेका थिए । यथार्थमा यी विद्रोहहरु रोमन साम्राज्यको आन्तरिक कलह र विभेदको सूचक थिए ।
त्यतिबेला रोमन समाज सबैभन्दा खराब अवस्थामा पुगेको थियो । मानसिक र नैतिक पतनको स्थितिमा थियो । औसत रोमनहरु अल्छी, प्रयोगहीन, कमजोर र कामुक भएका थिए । तर रोमन साम्राज्यको वृद्धिपछि धनी र कुलीनहरु झनै सम्पत्तिवान भएका थिए । तिनीहरु आफ्नो शक्तिप्रति गर्व गर्दथे र अब आफ्नो अधिकांश समय मोजमस्तीमा व्यतित गर्न थालेका थिए । यी मोजमस्ती खोज्ने र कामुक विचार भएका मानिसहरु अब अप्राकृतिक मैथुन र पशुमैथुनमा लीन हुन थालेका थिए । ‘खाऊ, पिऊ र सम्भोग गर’ भन्ने विचार नै उनीहरुको जीवनशैली बनेको थियो । त्यसपछि अरुलाई तड्पाएर आनन्द लिने तिनीहरुको चरित्र बनेको थियो । विभिन्न सेक्स क्लबहरु र सामूहिक सम्भोग गर्ने स्थानहरु खोलिएका थिए । दास र गरिबका स्त्रीहरुलाई तड्पाएर सेक्स गर्नु, गराउनु, त्यसमा सहभागी हुनु र दृश्यावलोकन गर्नु उनीहरुको लागि आनन्दको स्थान थियो । तिनीहरु दासका दुई ग्लाडिएटर (योद्धा) हरुलाई एकअर्कामा भिडाएर त्यो दृश्य हेर्नमा अत्यधिक सुखानुभूति गर्दथे । त्यो भिडन्तमा ती ग्लाडिएटरहरुको रगतले निथ्रुक्क भिजेको शरीरले ती कुलीन वर्गका दर्शकहरुलाई अप्राकृतिक आनन्द प्रदान गर्दथ्यो । हजारौं रोमनहरु थिएटरमा भेला भएर यस्तो भिडन्त अवलोकन गर्दथे । उनीहरु आफ्नो पक्षको दासले अर्कोलाई हिर्काएको र पराजित गरेको क्षणमा खुशीले चिच्याउने गर्दथे । छोटकरीमा भन्नुपर्दा रोमन साम्राज्य शोषण र असमानताको चरमचुलीमा पुगेको थियो र त्यसलाई समाप्त पार्नको लागि स्पार्टाकसले विद्रोहको मुक्का रोमन साम्राज्यमाथि प्रहार गरे । दुईवटा विद्रोहहरु पहिले नै भइसकेका थिए । एउटालाई सजिलै दबाइएको थियो । दोस्रो विद्रोह दबाउनको लागि प्रख्यात जनरल जस्तै पम्पियस म्याग्नसलाई हतियार र ठूलो संख्याको सैनिक दिएर पठाइएको थियो । यसै परिप्रेक्ष्यमा अनैतिकता, भोगविलास, अरुलाई तड्पाएर लिने आनन्द, नैतिक पतन र शोषण बढ्न थालेपछि तेस्रो दास क्रान्तिको बीउ रोपिएको थियो । यसरी कुलीन वर्गप्रति दासहरुको मनमा बढेको रिस, घृणा र आक्रोश क्रान्तिको रुपमा विस्फोट भयो ।
ती रोमनहरु नै थिए, जसले दासहरुलाई युद्ध गर्न सिकाएका थिए । अघि भनिएझैं त्यस बेलाका रोमनहरुको सबैभन्दा प्रख्यात मनोरञ्जन भनेकै दुई दास ग्लाडिएटरहरुलाई भिडाएर हेरिने दृश्य थियो । खासगरी छानिएका बलिया दासहरुलाई पर्याप्त खाना, शारीरिक व्यायाम र तालिम दिने गरिन्थ्यो । तिनीहरुलाई त्यसबाहेक अरु काम गर्न पनि लगाइँदैनथ्यो । त्यतिमात्र होइन तिनीहरुको शारीरिक क्षुधापूर्तिको लागि र खुशी एवं सन्तुष्ट बनाइराख्नको लागि समय–समयमा आइमाईहरु पनि उपलब्ध गरिन्थ्यो । ती ग्लाडिएटरहरुलाई तालिम दिने व्यक्तिलाई लानिस्टा भनिन्थ्यो । रोममा यस्ता धेरै थिएटरहरु थिए, जहाँ धनी मानिसहरु आफूले चाहेका दास ग्लाडिएटरहरुको भिडन्त हेर्न धेरै पैसा तिरेर भेला हुने गर्दथे । रगतका ती तिर्खालु व्यक्ति र वर्गहरुलाई दास ग्लाडिएटरहरुको यस्तो भिडन्त हेराएर लानिस्टाहरुले पर्याप्त धन आर्जन गरेका थिए । थ्रेसका दासहरु छोटो घुमाउरो चक्कुको प्रयोग गर्नमा पोख्त मानिन्थे भने अफ्रिकन दासहरुचाहिं जाली र भालाको प्रयोग गरेर गरिने भिडन्तमा पोख्त थिए । अफ्रिकन र थ्रेसियन दास ग्लाडिएटरहरुबीच हुने यस्तो द्वैध युद्ध हेर्न हरेक रोमनहरु उत्सुक हुने गर्थे । थ्रेसियनले चक्कु र अफ्रिकनले जाली र भाला प्रयोग गरेर गरिने यस्तो युद्धले आङ्ग सिरिङ्ग पाथ्र्यो अनि दर्शकहरु त्रसित भएर चिच्याउँदै उठ्ने गर्दथे । त्यसबेला कपुआ भन्ने नगरमा ढुंगाबाट एक शानदार रङ्गशाला बनाइएको थियो । यही रङ्गशालाको नजिकै त्यसबेलाको एक प्रख्यात लानिस्टा ल्यान्टुलस बाटियाटसले दास योद्धाहरुलाई तालिम दिनको लागि एउटा स्कुल स्थापना गरेका थिए । त्यस समयको त्यसरी तालिम दिने यो नै सबैभन्दा ठूलो स्कुल थियो ।
लानिस्टा बाटियाटस तन्केको छाला भएको भद्दा मोटे मानिस थिए तर उनका चतुर आँखाहरु सजिलै ग्लाडिएटरको तालिम लिने दासहरुलाई छान्न सक्दथे । उनी टाढा–टाढाबाट त्यस्ता दासहरुलाई किन्ने गर्दथे । बाटियाटसको किशोर अवस्थाको जीवन भिखारी जीवन थियो । उनी रोमका सडकहरुमा भिख माग्दथे । तर पछि यो लानिस्टाको व्यवसायबाट उनले यति धेरै पैसा कमाए कि उनी रोमका चार सबैभन्दा ठूलो भवनको मालिक बने । उनी बलवान दासहरुलाई खानी क्षेत्रतिर खोज्न जान्थे । खानीका निरीक्षकहरुलाई घुस ख्वाएर पनि उनी बलवान, तगडा र विद्रोही प्रकृतिका दासहरु पत्ता लगाउँथे । खानीले खासगरी तागतिला र बलिया दास पुरुषहरु किनेर राख्दथ्यो र बाटियाटस ती मध्येको पनि बलवानलाई किनेर लैजान्थे । बाटियाटसको अनुसार खानीमा एकदमै कडा परिश्रम गरेर पनि नथाक्ने दास द्वैध युद्धको ग्लाडिएटरमा उपयुक्त हुन्थ्यो । उनी त्यस्तै दासलाई किन्दथे । त्यसरी किनेर ल्याइएका दासहरुलाई उनले भिडन्तको कडा तालिम दिन्थे र उसलाई द्वैध भिडन्तको लागि तयार गर्दथे । ती दास योद्धाहरु केही क्षणको लागि थिएटरको मञ्चमा स्वतन्त्र महसुस गर्दथे र आफ्नो सम्पूर्ण शक्तिका साथ भिडन्तको लागि तयार हुन्थे । वास्तवमा यस्तो भिडन्त जीवन र मृत्युको भिडन्त हुनेगथ्र्यो र उक्त भिडन्त हेर्नको लागि आएका दर्शकहरु पराजित योद्धाले विजेताबाट मृत्यु पाउने भएकोले ज्यान फालेर लड्न उक्साउने गर्दथे । ती दास योद्धाहरुले त्यसरी ज्यानको बाजी थापेर भिडन्त गरे पनि यथार्थमा उनीहरु त्यो खून र हत्याको खेललाई घृणा गर्दथे । यसरी तेस्रो दास विद्रोहको ज्वाला त्यस्तो खेलप्रति दासहरुको घृणा र खेलाउनेप्रतिको आक्रोशको अनुभूतिको कारणले दन्किन थालेको थियो ।
बाटियाटसले स्पार्टाकस दासलाई इजिप्टको सुनखानीबाट किनेका थिए । स्पार्टाकस नम्र, भद्र र नेतृत्व गर्ने गुण भएका व्यक्ति थिए । उनका औसत मानिसझैं गहिरो काला आँखाहरु र घुम्रिएको कपाल थियो । उनी धेरै थ्रेसियन दासहरुभन्दा कान्छा थिए । ती सबै दासहरु उनलाई माया र सम्मान पनि गर्दथे । स्पार्टाकस कम बोल्ने स्वभावका थिए र उनले भनेका कुराहरु दासहरु माझ सजिलै स्वीकार हुन्थ्यो ।
बाटियाटसको कपुआमा रहेको तालिम स्कुलमा झण्डै दुई सय योद्धाहरु थिए । त्यहाँ प्रायजसो थ्रेसियन, अफ्रिकन र यहूदी दासहरु थिए । अधिकांश यी दासहरु बलिया, शक्तिशाली र योग्य ग्लाडिएटर थिए, तर तिनीहरुको मनमा आफने मालिकप्रति भने घृणा सिवाय केही पनि थिएन । बाटियाटसले भरिनिया नामकी एक जर्मन स्त्री स्पार्टाकसको मनोरञ्जनको लागि प्रदान गरेका थिए । ती स्त्रीले स्पार्टाकसलाई आफ्नो श्रीमान् स्वीकार गरेर जीवनभर उनको क्रान्तिलाई साथ दिएकी थिइन् ।
एकदिन दुई रोमन युवाहरु दुई दास योद्धाहरुको भिडन्त हेर्न कपुआ आए । बाटियाटसले ती दुई युवाहरुबाट २५,००० दिनार लिएर पराजित योद्धालाई मृत्युसम्म पु¥याउने भिडन्त देखाउन तयारी गरे । यी दुई रोमन युवाहरुको नाम ब्रकस र क्यामस थियो । यिनीहरुले चारजना दासहरुको छनोट गरे । पहिलो थिए, स्पार्टाकस, दोस्रो, ड्रबा नामको निग्रो, तेस्रो डेभिड नाम भएका यहूदी र चौथो कुनै अर्कै सम्प्रदायको युवक । पहिलो भिडन्त डेभिड र चौथो दास बीच भएको थियो । डेभिडले उक्त चौथो दासलाई पराजित ग¥यो तर विजयपछि उसले उक्त पराजितलाई मार्न अस्वीकार ग¥यो । यो तेस्रो दास विद्रोहको शुरुवातको झिल्कोमात्र थियो । त्यसपछि भिडन्त स्पार्टाकस र ड्रबाबीच हुनेवाला थियो । तर रेफ्रीले भिडन्त शुरु भएको सिटी फुक्नुभन्दा ठीक पहिला ड्रबाले त्यो एक रोमन युवामाथि अचानक भाला प्रहार गरे । तत्कालै सिपाहीहरु आएर ड्रबालाई भालाले घोचेर मारिदिए । ड्रबाको हत्याले दास क्रान्तिको जग बसायो । त्यसपछि बाटियाटसले दासहरुमा त्रासमय वातावरण सिर्जना गर्न सबै दासहरु एक ठाउँमा भेला हुनेबित्तिकै बिनाकुनै दोष एक निग्रो दासलाई एक्कासि भालाले घोचेर मारे । तर बाटियाटसको यस्तो कार्यले क्रान्ति रोकिनुको साटो झनै चर्कियो । स्पार्टाकसले यो विद्रोहको नेतृत्व गरे भने क्रिक्कुस र गानिकस नामका दुई दासहरुले उनलाई सहयोग गरे ।
ड्रबाको र अन्य मारिएका निर्दोष दासहरुको शवलाई मृत्युपछि पनि क्रशमा टाँगियो ताकि अरुहरुले कुनै विद्रोह गर्ने आँट गर्न नसकून् । स्पार्टाकसलाई दासहरुको त्यस्तो नियतिले चिन्तितमात्र तुल्याएन बरु आक्रोशको ज्वाला दन्कायो । उनले यी घटनाहरुबाट दासहरुको कठोर नियतिको भयानक पाठ सिके । त्यस उप्रान्त स्पार्टाकसले थिएटरमा कुनै पनि दाससँग भिडन्त नगर्ने निर्णय गरे । यी निर्दोष दासहरुको ज्यान किन त्यति सस्तोमा फाल्ने भनेर स्पार्टाकसले आफ्नो निर्णय अरु दासहरुलाई सुनाए । स्पार्टाकसको त्यस्तो निर्णय सुन्नेबित्तिकै बिनाकुनै प्रश्न र हिचकिचाहट ती सबै दासहरुले उनलाई साथ दिने निर्णय गरे । बिहानीको व्यायामपछि सबै दासहरु भान्सा कोठामा भेला भए । स्पार्टाकसले त्यहाँ छोटो भाषण दिए । त्यसपछि पहिलो कामको रुपमा तिनीहरुले आफ्ना प्रशिक्षकलाई मारे र त्यहाँको वातावरण निरीक्षण गरे । यो कामको लागि तिनीहरुलाई धेरै समय लागेन ।
स्पार्टाकस र उनका परिवार तीन पुस्तादेखि दास हुँदै आएका थिए । तर यो नै पहिलोपटक थियो कि स्पार्टाकस र अरु दासहरुले स्वतन्त्रताको सास फेर्न पाएका थिए । त्यसपछि भिडन्तका लागि त्यहाँ राखिएका ती योद्धा दासहरुले स्पार्टाकसको नेतृत्वमा उक्त थिएटरमा दरबन्दी पाएका चालीस जना सिपाहीहरुको हत्या गरे । आक्रोशित दासहरुको त्यस्तो हिंसात्मक आक्रमण सहन नसकेर त्यो थिएटरका केही सिपाहीहरु भाग्न थाले ।
स्पार्टाकसको नेतृत्वमा युद्धमा सामेल ती दासहरुले बाटियाटसको हतियार भण्डारमा रहेका हातहतियार लुटपाट गर्न थाले र अब संगठित रुपमा युद्ध गर्ने तयारी पनि गरे । सर्वप्रथम तिनीहरुले कपुआबाट आउँदै गरेको सिपाहीको प्लाटुनमाथि हमला गरे । तिनीहरुले माउन्ट भेसुभियासमाथि नियन्त्रण गरे । दासहरुको यस्तो विद्रोहको खबर रोमको सिनेटले सहन सकेन र बारिनियसको नेतृत्वमा ३००० सैनिकहरु ती दासहरुको विद्रोह दबाउन पठाइयो । त्यस बखत ती सैनिकहरुले अन्य निर्दोष दासहरुमाथि अनेकौं प्रकारका दुव्र्यवहार गरेर त्रासको वातावरण सिर्जना गरे । यसप्रकारको मनोमानी व्यवहार गर्न पाएर ती सैनिक खुशी देखिन्थे । त्यसपछि उनीहरु आफ्नो रात्री क्याम्पमा गए । त्यही रात विद्रोही दासहरुले सैनिकको रात्री क्याम्पमा हमला गरे । त्यो हमलामा हरेक रोमन सैनिकहरुलाई खोजी गर्दै दासहरुले मृत्युको मुखमा पुु¥याए । त्यसपछि स्पार्टाकसले सैनिकहरुबाट गिरफ्तार गरिएको रोमन शक्तिको प्रतिक पोर्थस नामको सैनिकलाई पठाउँदै भने,
“जा र तेरो सिनेटलाई भन, हामी अब तिमीहरुका कोर्राले बिरामी भएका छौं । त्यसैले आज उप्रान्त हामी दास भएर बाँच्न चाहन्नौं ।”
स्पार्टाकसका सैनिकहरु अघि बढ्न थाले । बाटोमा दासहरुको कैयौं विशाल भीड स्पार्टाकसको सैनिकलाई समर्थन गर्दै मिल्न आए । बिस्तारै स्पार्टाकसको सैन्यमा १,००,००० दासहरु सूचिकृत भए ।
पुबिलिएसको नेतृत्वमा रोमन सिनेटले अर्को विशाल संख्याको सैन्य विद्रोहीहरुलाई समाप्त गर्न पठायो । स्पार्टाकसले उक्त रोमन सैनिक विरुद्ध छापामार युद्धनीति अपनाए । उनले ‘हान र अल्पाइन भञ्ज्याङमा भाग’ को नीति अपनाएर युद्ध जिते । उनको चौथो जीत रोमनका एकदमै अनुभवी जनरल ममियसका विरुद्धमा थियो । त्यसपछि बाध्य भएर रोमन सैनिक पछि हट्यो । स्पार्टाकसको नेतृत्वको दास सैन्यसँग पराजित भएर पछि हट्नु परेको कुरा रोमन सैनिकको लागि लाजको विषय थियो । जब भगुवा रोमन सैनिकहरु रोम पुगे तब हरेक दश जना मध्ये एकलाई डर छेरुवाको आरोपमा मृत्युदण्ड दिइयो । पछि स्पार्टाकसले दुई चर्चित रोमन जनरलहरु ममियस र सर्भियसलाई गिरफ्तार गरे र तिनीहरुलाई दुई दास ग्लाडिएटर योद्धाहरुलाई थिएटरमा भिडाएझैं भिडाए । यसरी ती आक्रोशित विद्रोही दासहरुले आफूलाई वर्षौंदेखि गरिंदै आएको कुरा रोमन जनरलहरुलाई गराएर बदला लिए । अब ती दासहरुले कसरी युद्ध गर्ने भन्ने कुरा पनि पत्ता लगाए । आफ्नो पूर्व योजना मुताबिक कसरी रोमन सैनिकहरुलाई पराजित गर्न सकिन्छ भन्ने विचार गरेर स्थान तयार गरे । रोमनहरु बढी आत्मविश्वासको कारण युद्धको लागि अघि बढेकोले ठूलो क्षति पाए । परिणामस्वरुप तिनीहरुले युद्ध हारे । त्यो युद्धमा दश हजार दासहरुले पनि सहादत प्राप्त गरे । तिनीहरु आफ्नो अधिकार पाउन उत्साहित मानिसझैं आक्रमणमा सरीक भएकोले क्षति व्यहोर्न बाध्य भए । रोमन सैनिकहरु स्वयं पनि विद्रोही दासहरुको बहादुरिता देखेर चकित परेका थिए ।
अन्त्यमा अति नै ठूलो संख्यामा रोमन कमान्डर लिसिनियस क्रेससको नेतृत्व रोमन सैनिक विद्रोही दासहरुलाई दबाउन लागि प¥यो । दासहरु पराजित भए । स्पार्टाकसले बहादुरिताका साथ लड्दा–लड्दै सहादत प्राप्त गरे । ६,८७२ दासहरु पक्राउ परे र तिनीहरुलाई कपुआ जाने बाटोमा लस्करै क्रशमा टाँगियो र मृत्युदण्ड दिइयो । इतिहासकारहरुका अनुसार स्पार्टाकसकी श्रीमती भरिनिया आफ्नो छोरोसहित भाग्न सफल भएकी थिइन् । स्पार्टाकसको पराजय विद्रोहको अन्त्य थिएन । त्यसपछि पनि धेरै पटक दासहरुले विद्रोह गरेका थिए ।
स्वतन्त्रताको लागि आफ्नो ज्यान अर्पण गर्ने पहिलो शहीदको रुपमा इतिहासले स्पार्टाकसको स्थान सुरक्षित गरेको छ । हावर्ड फास्टले स्पार्टाकसको जीवनीमा आधारित भएर कलम चलाएका छन् र यसै विषयमा किर्क डगलसले चलचित्र पनि बनाइसकेका छन् । दासका पछिल्लो पुस्ताहरुले क्रूरता र दमनको विरुद्धमा संघर्ष गर्ने स्पार्टाकसलाई अत्यन्त सम्मान पनि प्रकट गरेका छन् । स्पार्टाकसले स्वतन्त्रता र आफ्नो अधिकारको लागि लड्न प्रेरित गरेका छन् ।