प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा बसेको लगानी बोर्ड बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताउनुभयो । आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिनुभयो । लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताउनुयो । सम्मेलनअघि ऐन संशोधन गरेको भन्दै उहाले त्यसले लगानी बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताउनुभयो ।त्यस्तै उहाले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिचाइँलाई प्राथमिकता दिन र विकासका काम रोकिएको भए अघि बढाउन दिर्नेशन दिनुभयो ।