काठमाडौं । सन् १९६४ को नोबेल पुरस्कारद्वारा सम्मानित सात्र्रको जन्म सन् १९०५ जुन २१ का दिन फ्रान्सको पेरिसमा भएको थियो । उनका पिताको देहान्त उनी बालक छँदै भएकाले यिनको लालनपालन यिनका हजुरबुबाले गरेका थिए । बाल्यकालमा यिनी औसत रुपमा अन्य बालकहरुभन्दा होचो कदका थिए । उमेरअनुसार यिनको शारीरिक वृद्धि हुन सकेको थिएन त्यसैले होचो कदका सात्र्र खेल्न जाँदा साथीहरु नै पाउँदैनथे र निराश भएर घर फर्किन्थे अनि एक्लै बसदथे । सात्र्रको शिक्षा पूरा भएपछि यिनी प्राध्यापन पेसामा लागे र आजीवन त्यही पेसामै रहे । प्राध्यापन पेसा र लेखनलाई उनले एकसाथ अगाडि बढाउँदै लगे । उनको पहिलो उपन्यासको नाम “नासिआ” थियो यो एक डायरीका रुपमा प्रकाशित भएको थियो । उनका अन्य प्रमुख कृतिहरु निम्न छन् ः
उपन्यास ः १) इमेजिनेशन, २) साइक्लोजी अफ इमेजिनेशन, ३) स्केच फर ए थ्योरी अफ द इमोसन, ४) विइंग एन्ड नथिंगनेस, ५) आउटस्टैन्डीङ
नाटक ः १) फ्लाइज, २) इन क्यामेरा
प्रसिद्ध विचारक, दार्शनिक, उपन्यासकार नाटककार सात्र्र स्वतन्त्रामा विश्वास गर्दथे । कुनै पुरस्कार, सम्मान, मानपदवी आदि प्राप्त गर्नु भनेको आफ्नो व्यक्तिगत मान्यतालाई ती संस्थाप्रति सम्बद्ध गराउनु हो भन्ने मान्यता यिनको थियो । त्यसैले यिनले १९६४ को नोबेल पुरस्कार ग्रहण गर्न अस्वीकार गरे । त्यसबाट उत्पन्न गलत धारणालाई स्पष्ट पार्दै उनले उटा पत्रिकामा लेखेका थिए– “कुनै पनि प्रकारका मान सम्मानहरु ग्रहण गर्दा आफ्ना व्यक्तिगत मान्यताहरु ती संस्थाप्रति सम्बद्ध हुन करै लाग्दछ । यदि त्यसो भयो भने लेखकले स्वतन्त्रतापूर्वक लेख्न सक्दैन । मेरो मान्यता छ नोबेल पुरस्कारले सबै राष्ट्र र आदर्शको प्रतिनिधित्व गर्न सकेको छैन । यदि मैले यो पुरस्कार ग्रहण गरें भने मेरो उक्त मान्यताप्रति सन्देह उत्पन्न हुन्छ । लेखकहरु कुनै पनि संघ संस्थासँग आवद्ध नहुने हो भने मात्र पूर्व र पश्चिमको संस्कृति र जनताको आदानप्रदान हुन सक्दछ । मैले उक्त पुरस्कार ग्रहण गर्न अस्वीकार गरेर स्विडिस एकेडेमीको अपमान गर्न खोजेको कदापि होइन । मलाई यदि सोभियत सरकारले लेनिन पुरस्कार प्रदान गरे पनि म त्ययसलाई ग्रहण गर्नेछैन । त्यसैले मलाई बामपन्थी विचारको सन्त्रास पनि नदिइयोस् ।” नोबेल पुरस्कार ग्रहण गर्न अस्वीकार गरेपछि उनीमाथि बामपन्थी विचारकको आरोप पनि लागेको थियो जो वास्तवमा सत्य पनि थियो । उनको विचारलाई सात्र्रको समाजवाद नै भनिन्छ । सात्र्रको सन् १९८० को अप्रिल १५ का दिन ७५ वर्षको उमेरमा देहान्त भयो ।