
काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् । काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् । ‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन् ।काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् । पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् । कबाड व्यवसायीहरुको काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता एवं नवीकरण रोकेको उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।आन्दोलनकारीले व्यवसायीहरुमाथि भएको दुव्र्यवहारको न्यायोचित छानबिन हुनुपर्ने, भौतिक संरचनामा भएको तोडफोडबारे छानबिन गरी उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग समेत गरेका छन् । कबाड व्यवसायीको आन्दोलनमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को समेत सहयोग रहेको छ । आन्दोलनमा आजपा महासचिव अमर साहको विशेष सहभागिता रहेको छ । कबाड व्यवसायी संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्वमा सो प्रदर्शन भएको हो । बालेनले कबाड व्यवसायीमाथि डोजर आतंक मचाएपछि केही समय अघि आजपा अध्यक्ष प्रभु साहले काठमाडौंका मेयरको डोजर आतंक नरोकिए काठमाडौं महानगरमा प्रभु साहको डोजर चल्ने चेतावनी दिएका थिए । शनिबार आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले कबाड व्यवसायीको आन्दोलनमा समर्थन गर्ने र आन्दोलन सफल बनाउँने निर्णय गरेको थियो । उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता रहेको थियो ।




























