
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।प्रधानमन्त्री ओलीको पक्षमा अहिलेसम्म कांग्रेसका ८८, एमालेका ७७, जसपाका ७ जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४ र नागरिक उन्मुक्तिका ४ तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह गरी १ सय ९२ सांसद छन् ।यता, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ ।




























