
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार रिट दर्ता गर्दै सर्वोच्चले ३० वैशाखलाई पेसी तोकेको छ ।अधिवक्ता नवीन धितालले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार दर्ता गरेको हो ।गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिमा अधिकारीलाई गैरकानुनी रूपमा राखिएको भन्दै रिट परेको हो । प्रस्तुत मुद्दाको टुङ्गो नलागेसम्म मापदण्ड लागु नगर्न तथा नगराउन, गभर्नर सिफारिस नगर्न तथा नगराउन र गभर्नरको नियुक्ति भएको भए निजबाट काम नगर्न तथा नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
सर्वोच्च अदालतले वैशाख ३० गते पेसी तारेखमा उपस्थित हुन गोरखा, अजिरकोट–२ घर भई हाल काठमाडौँ, तारकेश्वर–४ बस्ने रिट निवेदक धिताललाई भनेको छ ।




























