काठमाडौ । प्रिय जनप्रतिनिधि सर्वप्रथम हाम्रो अमूल्य मत पाएर विजय हासिल गर्नुभएकोमा तपाईंका मतदाताको तर्फबाट हार्दिक बधाइ छ । तपाईंको यो महान् विजय अघिका जनप्रतिनिधिको जस्तै भ्रष्टचारको लाइसेन्स नबनोस् र बन्नु हुँदैन भन्नेमा यसपालि हामी सचेत छौं । तपाई जस्तै स्थानीय चुनाव जितेर जनप्रतिनिधि बनेका तपाईंभन्दा अघिका २० हजारभन्दा बढीलाई भ्रष्टचारको मुद्धा लागेको थियो । कति जेल पनि परे । यसरी सबका सब जनप्रतिनिधि कसरी भ्रष्ट भए ? इमानदार भनेर पठाएको कसरी सबै चोरमा परिणत भए ? एउटै कारण छ, चुनावलाई हामीले ढल बनाएका छौं र जो पनि निर्वाचनको त्यो ढलमा छिर्छ त्यो गन्हाउन थाल्छ । उनीहरुले भ्रष्टचार गरेका थिए कि थिएनन् भनेर अख्तियारले अनुसन्धान गर्नै पर्दैन उनीहरुको चुनाव खर्च सोधे पुग्छ । उनीहरुले खुवाएको मासुभातको हिसाब र बाँडेको पैसाको लेखा गरे पुग्छ ।
प्रिय जनप्रतिनिधि, हामी सारा नेपालीलाई थाहा छ यसपालि तपाईले पनि ठूलो पैसा खर्च गरेर चुनाव जित्नु भएको छ । अब त्यो पैसाको के हुन्छ ? लगानी त उठाउनै पर्यो । कि कसो ? तपाईंलाई भ्रष्ट बनाउने, तपाईंलाई चोर बनाउने मुख्य कडी यही हो । त्यही चुनाव अघि तपाईंले खुवाएको मासुभात र मौन अवधी शुरु भएपछि तपाईंले बाँडेको पैसाले नै हो तपाईंलाई चोर बनाउने । चुनावमा हुने फजुल खर्चले हाम्रो चुनावी प्रक्रियालाई नै ढल बनाएको छ । त्यसैले यसमा जो छिर्छ ऊ गन्हाउँछ नै । त्यसैले म भन्दैछु तपाईले पनि भ्रष्टचार गर्ने निश्चित छ । जति नै सुकिला लुगा लगाएर हिंडे पनि तपाईं पनि दुङदुङी गन्हाउनु नै हुन्छ । यही थाहा पाएका हामी सचेत नेपाली यसपालि हरेक पालिकामा ‘सचेत नागरिक आयोग’ बनाएर तपाईंको पछि लाग्नेवाला छौं । यसपालि हामी तपाईंहरुको पसिना छुटाउनेवाला छौ । चुनावमा गरेको खर्च उठाउन लामाहात गर्नुभयो भने यसपालि हामी तपाईंलाई जेल पनि पुर्याउने छौं । हामी तपाईंलाई चोर बन्न नदिने हर प्रयास गर्छौं तर म चोर्न आएको हुँ चोर्छु भन्नु भयो भने तपाईंलाई जाक्ने व्यवस्था हामी गर्दैर्छौं । त्यसैले यदि तपाईं जेल जान चाहनुहुन्न भने चुनावमा फजुल खर्च भएको त्यो पैसा माया मार्नुहोस् । त्यो पैसा राष्ट्रलाई दिएको दान सम्झनुस् । अघिका जनप्रतिनिधिले जस्तो म घुस खान्न, म कुनै पनि हालतमा पहिला पहिलाका स्थानीय प्रतिनिधि जस्तो घुस्याहा बन्दिन भन्ने अठोट गर्नुहोस् । म देश र जनताप्रति बेइमानी गर्दिन, म इमानको राजनीति गर्छु भन्ने शपथ खानुस् ।
तपाईं इमानदार बन्ने प्रयास गर्दैगर्दा तपाईंकी श्रीमतिले फसेको पैसा उठाउनका लागि तपार्ईलाई दबाब दिनेछिन् । तपाईंका पार्टीका झोले कार्यकर्तादेखि तपाईंका नेताले सम्म तपाईंलाई घुस्याहा बन्न दबाब दिन्छन् । अहिलेको सिस्टममा घुस खानु धर्म हो । तपाईंले त्यसरी घुस नखाएर धर्म छोड्दा सबै तपार्ईसँग रिसाउँछन् । तर यो दबाबको आँधीसँग लड्दै तपाईं घुस नखाने कसम खाएर सतिसालजस्तो भएर ठिङ्ग उभिनुस् । तपाईं त्यसरी उभिँदा पहिला त जनताले पत्याउँदैनन् भने बेइमानले तपाईंलाई एकोहोरो प्रहार गर्छन् । सबै तपाईंको विरोधी भइसकेजस्तो देखिन्छ तर विस्तारै जनताले तपाईंलाई साथ समर्थन र इज्जत दिन्छन् । र, अर्को पटक तपाईंको घुस्याहा बनाउन सिकाउने घुस्याहा पार्टीले टिकट दिएन भनेपनि जनताले एक पैसा खर्च नगराई उल्टै चन्दा उठाएर चुनाव प्रचार गरेर तपाईंलाई जिताइदिन्छन् ।
प्रिय जनप्रतिनिधि, तपाईं आफूले मात्र घुस नखाने कसम खानु भयो, म अगाडिका जनप्रतिनिधिजस्तो घुस्याहा बन्दिनँ भन्ने शपथ खानु भयो भने यस देशको मुहार फेरिन्छ । आफ्नो अमूल्य मत मार्फत् जनताले तपाईंलाई देशको भविष्य बुझाएका छन् । वास्तवमै यस देशको भविष्य तपाईं जनप्रतिनिधिको हातमा छ । तपाईं भ्रष्ट हुँदा यो देश भ्रष्ट हुनेवाला छ । तपाईंको असफलता यो देशको असफलता हो । तपाईं बिग्रँदा यो देश बिग्रनेवाला छ । त्यसैले तपाईंको इमानसँग यस देश र यहाँका जनताको भविष्य जोडिएको छ ।
प्रिय जनप्रतिनिधि, एक दिन तपाईं पनि मर्नुहुन्छ म पनि मर्छु । एक दिन हामी सबै मर्छौं । तपाईंले जति नै घुस खाए पनि मरेपछि आफूसँग त्यो लिएर तपाईं जान सक्नु हुन्न । मर्दा सबै छोड्नै पर्छ । आखिर मरेर केही लानु छैन भने किन भ्रष्ट र घुस्याहा बनेर सम्पत्ति थुपार्ने ? म हात जोडेर विन्ति गर्छु जनप्रतिनिधिज्यु कृपया यसपटक तपाईं इमानदार बन्ने प्रयास गर्नुहोस् । तपाईंभन्दा अघिका जनप्रतिनिधि भ्रष्ट बनेको कारणले हेर्नुहोस् त हाम्रो हालत कस्तो भयो ? छोटो जीवनको यो अमूल्य समयमा हामी ५ वर्ष पछि पर्यौं । तपाईं आफै हेर्नुहोस् कतै एउटा पनि पालिका उदारणीय र राम्रो बनेको तपार्ईले देख्नु भयो ? देख्नु भएन नि । बनेन नि । मलाई थाहा छ तपाईं पनि म यस पालिकाबाट भ्रष्टचार निर्मूल गर्छु भनेर चुनाव जित्नु भएको हो । पहिलाका जनप्रतिनिधि बेइमान, भ्रष्ट र घुस्याहा भए त्यसैले विकास हुन सकेन यसपालि म इमानदार बनेर विकास गर्छु भनेर नै चुनाव जित्नु भयो । आफै हेर्नुहोस् पुरानाले तपाईंको पालिकामा पानीको समस्या समधान गरे ? गरेनन् नि । फोहोरको समस्या समाधान भयो ? भएन नि । रंगशाला, बिजुली, बाटो, ढल र पार्क बने ? बनेनन् नि । स्कुल राम्रो बने ? बनेन नि । आखिर किन पहिलाका जनप्रतिनिधिले केही पनि बनाउन सकेनन् ? किनकि तिनले चुनावमा धेरै पैसा खर्च गरे र पूरा कार्यकाल उनीहरु त्यो पैसाको ब्याज, ब्याजको स्याजसहित उठाउन लागि परे । उनीहरुको पूरा कार्यकाल कसरी चोर्ने भनेर बुद्धि लाउनमा खर्च भयो । तिनले तालिमको नाममा चोरे, इन्धनको नाममा चोरे, बाटो र ढल बनाउँछु भनेर चोरे, पानी ल्याउँछु भनेर चोरे, बैठक र भत्ता भनेर चोरे । विकासको नाममा आफूले जग्गा दलालसँग मिलेर किनेको जग्गामा बिजुली, ढल, पानी र बाटो पुर्याएर चोरे । कोरोनाको नाममा चोरे । विपन्नलाई दिने राशनको नाममा चोरे । तिनले जन्मदर्ता, बृद्धभत्ता देखि मृत्यु दर्तासम्ममा चोरे । तिनले चोर्न नपाउने कुनै काम गरेनन् । किनकि तिनीहरु विकास गर्नका लागि नभएर चोर्ने उद्देश्यले गएका थिए ।
यी धेरै चोरहरुलाई यसपालि ठूला पार्टीले दोहोर्याएर टिकट दिएन किन थाहा छ तपाईंलाई ? किनकि ति भ्रष्ट र चोर हुन् भन्ने जनता र तिनलाई टिकट दिने पार्टीलाई समेत थाहा थियो । किनकि पार्टीले विभिन्न आमसभाका लागि पैसा उठाउन लगाएर र चुनाव जसरी पनि जित्नु भनेर जित्न सक्नेलाई मात्र अर्थात् पैसाको खोलो बगाउन सक्ने र पछि भ्रष्टचार गरेर पैसा उठाउन सक्ने चोर र दलाललाई टिकट दिएको थियो । बारम्बार एउटै मान्छेलाई चोर्न पठाउनु हुन्न भन्ने यी पार्टीलाई राम्रोसँग थाहा छ त्यसैले मान्छे फेरि फेरि जनताको पैसा चोर्छन् । पार्टीको विचरो इमानदार नेता त अहिले पनि सिद्धान्त ठूलो कुरा हो भनेर बसेको छ । उसले कहिल्यै टिकट पाएन र पाउनेवाला पनि छैन । किनकि उसमा एउटा ठूलो कमजोरी छ । उसको त्यो कमजोरी हो उसको इमान । इमानदार भएको कारणले उसलाई सधैं पछि पारिएको छ । त्यसैले हे प्रिय जनप्रतिनिधिहरु मलाई थाहा छ, तपाईंको यात्रा कठिन छ तर पनि यसपालि तपाईं इमानदार बन्ने हिम्मत गर्नुहोस् । यसपालि तपाईं इमानको कठिन बाटो रोज्ने हिम्मत गर्नुस् । तपाईंको यो हिम्मतले यो देश उठ्ने छ । समाज भ्रष्टचार बिहिन बन्नेछ । सदियौंदेखि उत्पीडित र दुखी जनताको मुहारमा मुस्कान नाच्ने छ । मलाई विश्वास छ यसपालि कोही सचेत नागरिकले तपाईलाई भ्रष्टचारको मुद्धा लगाउनु नपरोस् । सफल कार्यकालको हार्दिक शुभकामना ।