काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष साधारण सभा शनिबार एकैदिन सम्पन्न भएको छ ।दुबै बैंकको विशेष साधारण सभाले नेपाल बंगलादेश बैंक (एनबी बैंक) लाई प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।दुई बैंकबीच यसअघि नै प्राप्ति सम्बन्धी सम्झौता भइसकेको छ । नबिलले एनबीलाई शेयर मूल्य अनुपात १००ः४३ मा प्राप्ति गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै एनबीका शेयरधनीहरुले १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।एनबीलाई प्राप्तीपछि कस्तो हुनेछ नबिल बैंक ?
एनबीलाई प्राप्ती गरेपछि नबिल बैंक समग्र बाणिज्य बैंकहरुमा एक दर्जनभन्दा बढी सुचकमा नम्बर एक हुनेछ । नम्बर वान सुचकहरुमा बैंकको निक्षेप बढेर तीन खर्ब २० अर्ब नाघ्ने छ भने कर्जा बढेर तीन खर्ब नौ अर्ब नाघ्ने छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी आठ अर्ब ५२ करोड ९० लाख पुग्नेछ भने कुल सञ्चालन मुनाफा ११ अर्ब ७८ करोड ४२ लाख रुपियाँ पुग्नेछ ।त्यस्तै, बैंकको अन्य सञ्चालन खर्च एक अर्ब ३९ करोड ८२ लाख सीमित हुनुका साथै सञ्चालन मुनाफा बढेर छ अर्ब १७ करोड ६७ लाख रुपियाँ पुग्नेछ । त्यस्तै, खुद आम्दानी बढेर चार अर्ब ४६ करोड ३१ लाख रुपियाँ, वितरणयोग्य मुनाफा दुई अर्ब ७३ करोड ३९ लाख रुपियाँ पुग्नेछ । एनबीलाई प्राप्तीपछि नविलको आधार दर ८.४५ प्रतिशत कायम रहने छ ।त्यस्तै, जोखिम भारित सम्पत्तिको अनुपात १३.७९ प्रतिशत पुग्ने, कष्ट अफ फण्ड्स ६.८५ पुग्ने, प्रति शाखा कुल व्यवसाय बढेर तीन अर्ब १२ करोड पुग्ने, प्रति कर्मचारी व्यवसाय बढेर ३३ करोड ७५ लाख पुग्नेछ । रिर्जभका हिसावले निकै सबल रहेको नबिल बैंकमा अहिले एक हजार २७१ कर्मचारी रहेकोमा एनबीका ९७६ थप्पिएपछि दुई हजार २३९ पुग्नेछन् ।त्यस्तै, नविलको अहिले १३५ शाखा र १८५ एटीएम रहेकोमा एनबीको ९९ शाखा र ८१ एटीएम थप्पिएर शाखा संख्या २३४ र एटीएम २६६ पुग्नेछ । एनबीको आठ वटा एक्सटेन्शन काउन्टर पनि रहेका छन् ।