काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो ।गरिमा फिल्मले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । भिडियोमा कलाकारहरु शुभम् आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ । उनीहरुबीचको टिनएज प्रेमलाई भिडियोमा देखाइएको छ ।भिडियोलाई नवराज उप्रेतीले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् । कार्यक्रममा बोल्दै गायक रवि ओडले गीत संगीतलाई माया गर्न दर्शक–श्रोतालाई अनुरोध गरे । गीतमा नयाँ बालकलाकार रहेकोले भिडियो पनि उत्कृष्ट बनेको उनले बताए । त्यस्तै, गायिका पौडेलले गीतसँगै भिडियो पनि उत्कृष्ट रहेको बताइन् ।त्यस्तै, कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए ।उनले भने, ‘प्रायः म्युजिक भिडियोमा उमेर पुगेका कलाकारले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा–युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौँ । भिडियोले गीतलाई न्याय गरेको छ ।’त्यस्तै, निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा–युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए ।उनले भने, ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा–युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले शुभम् र योगिशालाई छनोट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो ।’निर्देशक पाण्डेले आफ्ना हरेक भिडियोमा केही न केही नयाँपन देखाउने गरेका छन् ।https://www.youtube.com/watch?v=6HVlzjlo88Y