
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएको भौतिकमन्त्री यादवले आज (शुक्रबार) पदभार ग्रहण गर्नुभएको हो ।मन्त्री यादवलाई मन्त्रालयका प्रदेश सचिव कृष्णकुमार मिश्रले पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहण गर्नुहुँदै मन्त्री यादवले यातायात कार्यालयमा सेवाग्राहीको चाप देखिएको र विचौलियाबाट ठगिने गरेका गुनासो पटक–पटक सुनिदै आएको बताउनुभयो । सेवाग्राहीको सहजताका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश मातहतका सबै यातायात कार्यालयमा आइतबारदेखि टोकण प्रणाली लागू गर्ने पहिलो निर्णय गरिएको जानकारी उहाँलेदिनुभयो ।पदभार ग्रहणको समयमा उपस्थित सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मन्त्री यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको प्रदेशका गौरवका आयोजनाहरुको कामलाई पहिलो प्राथमिकतामा राखेर कामकाजलाई अगाडि बढाइने बताउनुभयो । उहाँले पदभार ग्रहण गरेको र अगामी दिनमा जनताको आवश्यकता अनुसारको योजना कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मन्त्री यादवलाई मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले भव्य स्वागत गर्नुभएको थियो । मन्त्री यादवले मन्त्रालयका मातहतका प्रमुखहरुलाई कार्यालयबाट प्रभावह गरिने सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन समेत दिनुभयो ।Source :Gorkhapatra




























