
नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायब उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) थप गर्ने निर्णय गरेको छ ।सञ्चारमन्त्री शर्माले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने र उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।




























