सुनसरी । इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले सात जनाको नाम सिफारिस गरेको छ। मेयरका लागि अहिलेका बाहालवाला मेयर, उपमेयर, उपमहानगर कमिटीका अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व अध्यक्ष, जिल्ला कमिटी सदस्य र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई सिफारिस गरेको हो।एमाले उपमहानगर कमिटी सचिवालय बैठकले अहिलेका मेयर द्वारिकलाल चौधरीसहित सात जनाको नाम सिफारिस गरेको हो। जसमा उपमेयर लक्ष्मी गौतमलाई पनि मेयरकै लागि सिफारिस गरिएको छ। मेयरका लागि केन्द्रीय सदस्य तैयव हुसेनलाई समेत सिफारिस गरेको छ।उपमहानगर कमिटीको सचिवालय बैठकले महानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस गरेको छ।उपमेयरमा नौं जनाको नाम सिफारिस गरिएको छ। उपमहानगर कमिटी सचिवालय बैठकले सिफारिस गरेकामा अम्बिका चौधरी, बिष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस भएको छ।२०७४ सालको निर्वाचनमा एमालेका मेयरमा द्दारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम बिजयी भएकी थिइन्। चौधरीले २२ हजार ६८९ मत ल्याएर बिजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भएकी थिइन्। त्यो बेला नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्।२०७४ सालको निर्वाचनमा इटहरीमा एमालेले मेयर–उपमेयरसँगै आठवटा वडा २, ४, ५, ९, १८, १९, १३ र १४ मा जितेको थियो। इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेका सर्वध्वज साँवाले मेयर जितेका थिए। त्यो निर्वाचनमा उपमेयरसहित आठ वटा वडामा पनि एमालेले नै जितेको थियो। वडा नं. ७ मा मात्र नेपाली काँग्रेसले जितेको थियो।यसैबीच, पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका लागि दाबी गरिरहेको जानकारी दिइयो। इटहरीमा एकीकृत समाजवादीले मेयर पाएमा केशव विष्ट उम्मेदवार हुने पक्कापक्की छ। विष्ट राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव हुन्। इटहरीमा भएका एकीकृत समाजवादीको नेतामध्ये उनी नै सिनियर र नाम चलेकामा पर्छन्।एकीकृत समाजवादीले मेयर नपाउँदा उपमेयर पाउनेमा भने ढुक्क छ। उपमेयर पाएको खण्डमा भने पार्टीले एमालेबाट आएका पूराना, इमान्दार, प्रतिष्ठित अनि विगतदेखि स्वच्छ छवि भएकामध्येबाट छनोट गरिने जानकारी दिइयो।माओवादी केन्द्रले पनि मेयरमा दाबी गरीरहेको जनाएको छ। तर, केन्द्रले जुनसुकै दललाई मेयर दिने निर्णय गरेपनि स्वीकार्य हुने नेता शिव डागीले जनाए। यदि माओवादीले मेयर पाएमा शिव डागी, मदन चुडाल र ज्वालासिंह तामाङ् आकांक्षी रहेका छन्।