
काठमाडौँ - सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ । कूल २२०/१३२ केभी क्षमताको सबस्टेसनमा एक सय ६० एमभिए, एक सय ३२/११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् ।ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब स्टेसनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सब स्टेसनलाई चार्ज गरिनेछ ।घिसिङसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोसीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोसीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको उल्लेख गरे ।मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको छैन ।बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किमी ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । उक्त प्रसारण लाइनमा पर्ने एक सय २२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण पाँच वटा टावर निर्माण बाँकी छ । अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले बताए । “उक्त प्रसारण लाइनमध्ये ४२ किमी तार तानिसकिएको छ । अवरोध भएको ठाउँको मात्र काम बाँकी छ”, उनले भने।तामाकोसी तथा सुनकोसी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।




























