[caption id="attachment_1548" align="alignnone" width="917"] सचेत नेपाली पार्टी उदयपुर जिल्ला त्रियुगा नगरपालिका प्रमुख उम्मेद्वार योगराज कार्की[/caption]उदयपुर । सचेत नेपाली पार्टीले उदयपुर त्रियुगा नगरपालिकामा योगराज कार्कीलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार सचेत नेपाली पार्टी उदयपुर जिल्ला कार्य समितिको कार्यलयमा बसेको घोषणा सभामा जिल्लाका प्रतिष्ठित समाज सेवी तथा उद्यमी योगराज कार्कीलाई त्रियुगा नगरपालिकाको मेयरको उम्मेदवारी घोषणा भएको हो ।
सचेत नेपाली पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाका अध्यक्ष समेत रहेका कार्कीले आफूलाई मेयरको उम्मेदवार बनाउने निर्णय लिएकोमा पार्टीलाई धन्यवाद दिंदै भनेका छन्, ‘मेरा लागि पूरा उदयपुर मेरो घर र यहाँको जनसमुदाय मेरो परिवार हुन् । त्रियुगा नगरपालिका उदयपुरको मुटु हो । मैले मेयरको रुपमा मौका पाएँ भने म राज्यका कुनै सुविधा लिने छैन । नगरपालिकाको मेयरले चढ्ने गाडीलाई म एम्बुलेन्सको रुपमा प्रयोग गरेर यहाँका नागरिकको सेवामा लगाउने छु । यो घरलाई सफा राख्न यहँका परिवारलाई स्वास्थ्य र शिक्षित बनाउनमा म यस नगरपालिकाको साधन र श्रोतको प्रयोग गर्ने छु ।’सचेत नेपाली पार्टीका प्रदेश १ का इन्चार्ज हरि बुढाथोकीले घोषणा कार्यक्रममा भनेका छन्, ‘पुराना पार्टी कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेशवादीले पैसा र पाखुराको भरमा चुनाव जित्ने हुन् । जनता उनीहरुको पक्षमा छैनन् । पैसा र पाखुराको बलमा आज चुनाव जित्नेले भोलि त्यही पाखुराले जनताको आवाज थुनेर अहिले खर्च गरेको पैसा उठाउने हुन् त्यसैले सेचत नेपाली पार्टीले चुनावमा पैसा पनि खर्च गर्दैन र पाखुरा पनि बजार्दैन । बस हामी नयाँ विचार सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावाद लिएर आएका छौं । हाम्रो उम्मेद्वार योगराज कार्कीले जित्नु भयो भने यही विचारमा अडिएर हामी नगरको सेवा गर्नेछौं ।
कार्यक्रममा सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले, ‘सचेत नेपाली पार्टीको कुनै पनि पालिकको बजेट कहाँ र कसरी खर्च गर्ने एउटा स्पष्ट नीति छ । मुख्यतया हाम्रो नीति अनुरुप नगरपालिकाको बजेट हामी गुणस्तरी शिक्षा, स्वास्थ्य, सडक, पानी, सफाइ र आत्मनिर्भरताका लागि खर्च गर्नेछौ । यसै अनुरुप सरकारी स्कुलको शिक्षा यस नगरपालिकाका कुनै पनि राम्रो भनिएको प्राइभेट स्कुलको भन्दा स्तरीय बनाउने छौं । यसका लागि हामी शिक्षक र अभिभावकलाई तालिम दिनेछौं । स्वस्थ्यको विषयमा पनि हामी उत्तिकै संवेदनशिल छौं । नगरमा हामी मोवाइल स्वस्थ्य चौकी संचालन गरेर नगरभरि नागरिकको १ फोन कलमा उपलब्ध हुने निशुल्क द्रुत स्वस्थ्य सेवा दिने छौं । १२ बजे राति पनि यो सेवा संचालन हुनेछ । हामी नगरभरि मोबाइल कर्मचारी संचालन गरेर बिजुली अफिसले मिटर चेक गर्न पठाए जस्तो नागरिकका समस्या सुल्झाउन घरमै पुग्ने छौं । पानी जन स्वस्थ्यसँग जोडिएर आउने अति आवश्यक कुरा भएकाले ‘शुद्ध पानी नगरबासीको अधिकार’ भन्ने नारा स्थापित गराएर नगरका हरेक घरमा धाराको पहुँच पुर्याउने छौं र कहिल्यै गुनासो आउने दिने छैनौं । सडक र सफाइ सभ्यतासँग पनि जोडिएर आउने कुरा भएकाले स्वच्छ र सफा नगर बनाउनमा हामी कुनै कसर बाँकी राख्ने छैनौं । इमानको राजनीति कट्टर इमानदार सरकार हाम्रो नारा नै भएकाले भ्रष्टचार र भ्रष्टप्रति हाम्रा पालिका प्रमुखहरु सदैब कठोर हुनुहुनेछ । अहिले कुनै पनि ठूला पार्टीका नेतृत्व नै भ्रष्ट भएकाले ति पार्टीमा भ्रष्टचार कल्चर बनेको छ जसले गर्दा प्रधानमन्त्री, मन्त्री, पालिका प्रमुखदेखि वडा सदस्यसम्म भ्रष्ट छन् जसका कारणले देशैभरिका नागरिक आक्रान्त छन् र खुल्लम खुल्ला राष्ट्रको दोहन भएको छ । भ्रष्टचार कहालीलाग्ने गरी शिखर उक्लिएको छ । सचेत नेपाली पार्टीले जुन पालिका जित्छ त्यहीबाट हामी र अरुमा फरक देखिने छ ।’