
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीसँग आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न आवश्यक रहेको बताए।उनले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय शून्यबाट संस्थागत संरचना निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्रालयलाई प्रभावकारी बनाउन स्वदेश तथा विदेशका नेपाली विज्ञको सहकार्य अपरिहार्य रहेको बताए।‘हाम्रो उद्देश्य राष्ट्रहितमा योगदान पुग्ने र अर्थतन्त्रलाई सबल बनाउने नवप्रवर्तनको विकास गर्नु हो,’ मन्त्री पुनले भने, ‘विदेशमा रहेका सक्षम नेपालीको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने वातावरण निर्माण गरिनेछ।’मन्त्री पुनले मन्त्रालयसँग हालसम्म आवश्यक प्राविधिक टोली, स्पष्ट कार्यसंरचना तथा कानुनी आधार पूर्ण रूपमा तयार नभएको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माण गर्ने र विश्वविद्यालयका अनुसन्धानलाई उत्पादनमुखी तथा व्यावहारिक बनाउने लक्ष्य रहेको जानकारी दिए।उनले नेपाली विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) र उत्कृष्टता केन्द्र (सेन्टर अफ एक्सिलेन्स) स्थापना गर्ने तथा गम्भीर अनुसन्धानका लागि आवासीय सुविधा सहितका अनुसन्धान केन्द्र विकास गर्ने योजना रहेको बताए।मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन समयानुकूल संशोधन गर्न पहल सुरु भएको जानकारी दिँदै सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) लाई सरकारले राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइरहेको बताए।छलफलमा स्वदेश तथा विदेशका वैज्ञानिक, अनुसन्धानकर्ता र नीतिविज्ञहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई नेपालको आर्थिक विकासको मुख्य आधार बनाउन दीर्घकालीन नीति, अनुसन्धानमा लगानी, विश्वविद्यालय–उद्योग सहकार्य, कृत्रिम बौद्धिकता, नवीकरणीय ऊर्जा, जैविक प्रविधि, कृषि प्रविधि, जलवायु विज्ञान तथा अनुसन्धान पूर्वाधारको विकासमा जोड दिएका थिए।सहभागीहरूले अनुसन्धानमा लगानी वृद्धि, राष्ट्रिय विज्ञान तथा प्रविधि रणनीति निर्माण, वैज्ञानिक पूर्वाधार सुदृढीकरण, बौद्धिक सम्पत्ति संरक्षण तथा विदेशमा रहेका नेपाली विज्ञको अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न सरकारलाई सुझाव दिएका थिए।कार्यक्रमको निष्कर्षमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान, अनुभव र सहभागिता यस अभियानको सफलताको मुख्य आधार हुने उल्लेख गरिएको छ।



























