काठमाडौं । अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेटले काठमाडौं महानगरपालिकाको योजनाअनुसार आफ्ना शाखाहरुका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।काठमाडौं महानगरपालिकाको ‘स्वच्छ, सफा र व्यवस्थित काठमाडौं’ तथा हाम्रो एक प्रयास, हाम्रो आफ्नै वडाबाट स्वच्छ र सफा काठमाडौं योजनाअनुसार तत्कालको समस्या समाधानका लागि अनुपमका शाखाहरुमा निःशुल्क रूपमा सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न सक्ने अनुपमका संचालक कृष्ण पौडेलले बताएका छन् ।उनले भने, ‘तत्कालको लागि सार्वजनिक शौचालयको अवधारणालाई योगदान दिन सकिन्छ भनेर महानगरको सत्कर्ममा अनुपम जोडिएको हो ।’
पौडेलका अनुसार अनुपमका उपत्यकामा तीन वटा शाखाहरु रहेका छन् । ती सबैमा नागरिकले सार्वजनिक शौचालयका रुपमा निःशुल्क प्रयोग गर्न पाउने छन् ।
अनुपमका अनुपम फुडल्याण्ड एण्ड व्यांक्वेट (बत्तीसपुतली- गौशाला), दियालो फुडल्याण्ड बेकरी (बसुन्धरा) र दियालो फुडल्याण्ड शेषमती बालाजु रहेको छ ।काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको जेठ १६ गतेको निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको आह्वान अनुरूप अनुपमले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको सङ्केत बोर्ड स्पस्ट देखिने गरी उपयुक्त ठाउँमा जडान गर्ने अनुपमले जनाएको छ ।अनुपमले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरूको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ ।