काठमाडौँ — एमाले सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना 'अग्निपथ योजना' अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनेर सरकारसँग जवाफ माग गरेका थिए ।
उनले भने, 'भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न ? त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिएमा नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ ।'भारतीय गोर्खा सैनिकमा भर्ना हुन तयार रहेका नेपाली युवालाई उक्त योजनाबारे सरकारले यथार्थ जानकारी दिनुपर्ने रावलको भनाइ थियो । उनले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले उक्त विषयमा सदनलाई जानकारी दिनुपर्ने बताए ।भारतले यसैसालबाट सेनामा ४ वर्ष मात्रै काम गर्न पाउने योजना अगाडि सारेको छ । युवाहरू सेनामा भर्ती भएपछि ४ वर्षमा निवृत्त हुने योजना भारतमा लागू भएको छ । त्यसैलाई अग्निपथ योजना भनिएको छ । गोर्खा भर्ती सन्धि अन्तर्गत जाने नेपाली युवाहरूमा त्यो लागू हुन्छ कि हुन्न भन्ने कुरा भने यकिन छैन ।भारतमा भने नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको उक्त योजनाको देशव्यापी रुपमा विरोध भएको थियो ।