
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै महासचिव विप्लवले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको जिकिर गरे ।उनले भने. ‘‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुशी पनि लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (माअोवादी केन्द्र)को नेतृत्वमा सरकार छ । र हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ । अरु समाजवादी पार्टीहरु पनि सबै हुनुहुन्छ । र एउटा लडाई जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले भनेका छौं–सरकारले त्यो लडाई लडनु पर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र हामीले दिएका पनि छौं । यो सही कुरा हो । र यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए शायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ ।’’भ्रष्टाचार विरोधी लडाइमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै उनले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे ।महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिर समेत गरे । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको बुझाइ थियो ।



























