शुक्रराज शास्त्रीको स्म्रण गर्दै उपप्रमुख डंगोलले भनिन्ः जीवन देशका लागि समर्पण गरौँ
विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ ।माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो । सोही दिनको स्मरण गर्दै आजबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कमल चलाउने पहिलो व्यक्ति भएको बताउनु भयो । उहाँले शास्त्री राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुची राख्ने व्यक्ति रहेको बताउनु भयो । साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर कलम चलाउने पहिलो व्यक्ति पनि शास्त्री नै रहेको उहाँको दाबी छ । उहाँले जीवन आफ्ना लागि मात्रै नभइ देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शुक्रराज शास्त्रीको योगदान साहित्यमा पनि उत्तिकै रहेको छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुहुन्थ्यो । विशेष गरी नेपाल भाषाको व्याकरण भने लेख्नुहुने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै हुनुहुन्छ । त्यस योगदानलाई पनि हामी स्मरण गर्न चाहन्छौँ । बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति हुनुहुन्छ । साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर उहाँले कलम चलाउनुभएको छ । उहाँको योगदानलाई कदर गर्दै उहाँले दिनुभएको उहाँको आफ्नो जीवन आफ्ना लागि मात्रै होइन सारा नेपालीका लागि हो भनेर उहाँले जसरी आफ्नो जीवन दिनुभएको छ, त्यसलाई स्मरण गर्न चाहन्छौँ ।’