![]()
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ ।मंगलबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच राखेपले एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई र उसुका समान १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६ औं एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए । शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत गरियो । ललितले माल्दिभ्समा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिंजालीले पुरस्कार पाए । गुणराजले थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा गुणराजअघि कुनैपनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए । राजपुरा र राममायाले समान ५५–५५ हजार नगद पुरस्कार पाए । बाँकीलाई समान ९०–९० हजार नगद पुरस्कार प्रदान गरियो । कार्यक्रममा राखेप सदस्य–सचिव टंकलाल घिसिङलेऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई गरेको बताउदै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको बेलैमा सुरु नगरे खेलाडीबाट ठूलो सफलताको अपेक्षा गर्नु न्यायोचित नहुने बताउनुभयो ।खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले पुरस्कृत गर्नुभएको हो ।




























