
भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल कठिन समूह 'ए'मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह 'बी'मा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा हुनेछ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।फिफाको प्रतिबन्धका कारण यस संस्करण श्रीलंकाले भाग लिने छैन । यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रुपमा सहभागी हुँदैछ ।नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । नेपाल अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । माल्दिभ्समा भएको त्यति बेलाको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।




























